छठ पर्व आत्मशुद्धि र सामाजिक एकताको प्रतीक : कावा सभापति अर्याल

6

काठमाडौँ, १० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

छठ पर्वको शुभकामना सन्देश जारी गर्दै अर्यालले सूर्य आराधनाको यस पर्वले नेपाली समाजको गहिरो धार्मिक र सांस्कृतिक महत्त्वलाई जीवन्त राख्दै आएको बताउनुभयो ।

उहाँले चार दिनसम्म विभिन्न विधि र अनुष्ठानका साथ मनाइने यो पर्व आत्मशुद्धि, त्याग र समर्पणका माध्यमबाट सामूहिक सद्‌भाव र एकताको सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ गरिने उपासनाले जीवनका सुख र दुःख दुवैलाई समानरूपमा स्वीकार गर्ने प्रेरणा दिन्छ ।”

अर्यालले पछिल्ला वर्षहरूमा छठ मनाउने क्षेत्र र समुदायको विस्तारले सांस्कृतिक आदान–प्रदान र हार्दिकतामा अभिवृद्धि गर्नका साथै विविधताबीचको एकतालाई अझ मजबुत बनाएको बताउनुभयो ।

छठ पर्वले सामाजिक एकता र राष्ट्रिय भावनालाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “छठको पावन अवसरमा प्राप्त हुने प्रेरणाले सामाजिक एकताको सूत्रलाई बलियो बनाई राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गरोस् ।”

Share This:
सम्बन्धित खबर
Loading...