भक्तपुर, ३ कात्तिक । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ ।
आज लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अगाडि ३०० रूपैयाँ प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज ७०० रूपैयाँमा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई एक हजार रूपैयाँसम्ममा बिक्री गरेका छन् ।
एक किलो सयपत्री फूलको माला बजारमा एक हजार ५०० रूपैयाँमा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी निवासी प्रकाश झाले बताउनुभयो । उहाँले आज एउटा सयपत्रीको माला एक हजार ५०० रूपैयाँका दरले खरिद गरेको जानकारी दिनुभयो ।
राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमिला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको ३०० रूपैयाँमा बिक्री गरेकोमा आइतबार ६०० रूपैयाँमा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताउनुभयो ।
खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको ८०० मा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको एक हजार ३०० रूपैयाँमा आज बिक्री भएको छ । भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उहाँले मखमली फूलको प्रतिमाला १०० रूपैयाँमा बिक्री गरेको जानकारी दिनुभयो ।
एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई २५ देखि ३० रूपैयाँमा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै ४० देखि ४५ रूपैयाँमा बिक्री गरेकाले व्यापारीले १०० रूपैयाँसम्ममा बिक्री गरेको बताउनुभयो । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उहाँले बताउनुभयो ।
गुण्डुकी पुष्प व्यवसायी गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको ४०० देखि ५०० रूपैयाँसम्ममा बिक्री भएको बताउनुभयो । बिचौलियाले फूल र माला बजार पुर्याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उहाँको भनाइ छ ।
पुष्प व्यवसायी अनिता बस्नेतले यसवर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिनुभयो । उहाँले सयपत्री फूल र मखमली फूलको माला गरी यसवर्ष पाँच करोड रूपैयाँभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले एक लाखदेखि पाँच लाख रूपैयाँसम्मको फूल तथा माला बिक्री गरेको बताउनुभयो ।
गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब ३०० रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँ मै आएर फूल र माला खदिमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको जानकारी दिनुभयो ।
बजारमा फूल र मालासँगै लक्ष्मी पुजाको लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ । भोगटे ६० रूपैयाँमा बिक्री हुँदै आएकोमा आज १५० रूपैयाँसम्ममा बिक्री भएको र बिमिरो ३० रूपैयाँमा बिक्री हुँदै आएकोमा आज १०० देखि १५० रूपैयाँमा बिक्री भइरहेको छ । बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाई मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता भने मारमा परेका छन् । –रासस