बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : विद्युत् प्राधिकरण

7

काठमाडौँ, ३ कात्तिक । डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत् विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत् प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेलामा पनि लाइन काट्न सक्ने बताउनुभएको हो । उहाँका अनुसार हाल सम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् ।

“कसैले एक किस्ताको रकम बुझाएका छन भने कसैले ५ किस्ता सम्मको रकम एकै पटक बुझाएका छन् । अझै २५ उद्योग किस्ता बुझाउन आएका छैनन् । ती उद्योगहरुमा कतिबेला लाइन काट्ने भनेर तय भएको छैन् तर यो तिहार भित्र जतिबेला पनि काटिन सक्छ,” उहाँले भन्नुभयो ।

बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रबारसम्म हामा आइरन एण्ड स्टिलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टिलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टिलले ५० लाख ४३ हजार र अशोक स्टिलले ६३ लाख रुपैयाँ बुझाएको छ ।

त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ

आइतबार थप ४ वटा उद्योगले किस्ता तिरेका छन् । तर, ती उद्योगहरुले आफ्नो नाम सावर्जनिक नगर्नु भनेकाले सावर्जनिक नगरिएको सिलवालले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...