विश्वकप क्रिकेट छनोट : नेपालले जापानलाई हरायो

19

काठमाडौँ, २४ असोज । आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै विजयकी भएको हो ।

प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पनि समान खेलबाट दुई अङ्कका साथ उपविजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।

जापानले प्रस्तुत गरेको १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रनको योगदान दिए । त्यसैगरी, गुल्शन झाले अविजित २८ रन बनाए भने कुशल भुर्तेलले २१, कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले अविजित १४ रन बनाए । जापानका लागि शोम स्लाटले दुई विकेट लिए भने सबौरिश रविचन्द्रन र डेक्लन सुजुकी म्याककोम्बले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको योगफल बनाएको थियो । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्काको मद्धतले सर्वाधिक ६० रनको योगदान दिए । इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन बनाए ।

नेपालका लागि गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एकएक विकेट लिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...