काठमाडौँ, २३ असोज । जेनजी सहिद परिवारले सरकारसमक्ष तीन वटा मन्त्रालयको माग गरेका छन् ।
बिहीबार राजधानीमा सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै बेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरुको उपस्थिति क्याबिनेटमा जरुरी भएको बताएका हुन् ।
सहिद श्रीयम चौलागाईंका बुबा गणेश चौलागाईंले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेकोप्रति रोष व्यक्त गर्नुभयो । चौलागाईंले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र सहिद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गर्नुभयो ।
सहिद परिवार कमल सुवेदीले पटक–पटक सहिद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रीहरुले भेटसमेत नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
सुवेदीले आफ्ना परिवारका सदस्यहरुको रगतबाट बनेको सरकार र जेनजीहरुले सहानुभूतिसमेत नदिएको गुनासो गर्दै भन्नुभयो, “हामीले हाम्रा परिवारका सदस्य गुमाएका छौँ, त्यसैमा टेकेर वर्तमान सरकार बनेको छ, जेनजीहरु विभिन्न समूह बनाउँदै हिँड्छन्, उहाँहरु आ–आफ्नै स्वार्थमा लिप्त हुनुहुन्छ ।”
जेनजी सहिद परिवार संघर्ष समितिले सरकारसमक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि सहिद विजय चौधरीका दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा सहिद इस्वत अधिकारीको आफन्त भोज विक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयका लागि सहिद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । समितिले सो माग सात दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।