सुनसरी, २१ असोज । गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण सुनसरीका विभिन्न स्थानका केराखेतीमा ठुलो क्षति पुगेको छ ।
सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठुलो क्षति पुगेको हो । ८ वर्षदेखि केराखेती गर्दै आउनुभएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ ६ लाख रूपैयाँ बैंकबाट ऋण लिएर केराखेती गर्नुभएको थियो । उहाँको तीन बिघा एक कठ्ठा केराखेतीमा क्षति पुगेको छ ।
करिब १३ लाख रूपैयाँभन्दा बढीको क्षति पुगेको उहाँले जानकारी दिनुभयो । बर्सेनि बाढीले केराखेतीमा १० लाखदेखि २५ लाख रूपैयाँसम्म क्षति हुने गरेको मियाँको भनाइ छ ।
त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठामा एक लाख लगानी गरेर लगाएको केराखेतीमा पनि ठुलो क्षति पुगेको स्थानीय किसानहरुले बताएका छन् । जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्मा ठुलो क्षतिको सामना गर्दै आएका छन् ।
जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख सिंहले बताउनुभयो ।