- मनिषा बस्नेत
काठमाडौँ, १९ असोज । हाल नेपालमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै गएकाले नेपालबाट बाहिरे अवस्थामा पुगेको मौसमविद्हरुले बताएका छन् ।
बंगालको खाडीबाट विकसित भएको निम्नचापीय मौसमी प्रणालीका कारणले गत १७ गतेबाट बागमती, मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा पनि भारी वर्षाहरू भएको थियो । उक्त मनसुनी वायु बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिने अवस्थामा रहेको जल तथा मौसम विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिसकेको छ । नेपालमा यो मनसुन बहिर्गमनको करिब करिब अन्तिम चरणमा पुगिसकेको अवस्था छ ।”
आज (आइतबार) मौसम फेरबदल हुने अथवा पानी पार्ने अवस्था नरहे पनि पश्चिमी वायुको कारणले कर्णालीका केही भू–भाग र सुदूरपश्चिमका पनि पहाडी क्षेत्रहरूमा केही मौसममा थोरै फेरबदल हुनसक्ने उहाँले जानकारी दिनुभयो । साथै उहाँले पानी पार्न सक्ने मौसमी प्रणाली नरहेको बताउनुभयो ।
“हामीले के देखिरहेका छौँ भने पश्चिमतिरबाट आउने पश्चिमी वायुको कारणले कर्णालीका केही भू–भाग र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा केही मौसममा थोरै फेरबदल हुने तर त्यति त्यस्तो खालको ठुलो फेरबदल हुने अवस्था छैन,” उहाँले भन्नुभयो ।
मनसुन सुधारिए पनि बहिर्गमनको अन्तिम चरणमा रहेकाले वर्षाको सम्भावना पनि उतिकै रहेको उहाँले बताउनुभयो ।
“अझैपनि मनसुन सकिसकेको अवस्था छैन । मनसुन बहिर्गमनको अन्तिम चरणमा छ । त्यसकारण मनसुन नसकिएसम्म वर्षाको सम्भावना रहन्छ, खासगरी मनसुनी वर्षाको,” उहाँले थप भन्नुभयो, “सम्भवतः यो हप्ताको अन्तिमसम्ममा अथवा अर्को हप्ताको सुरुसम्ममा मनसुन बहिर्गमन भइसक्ने अवस्था जस्तो देखिएको छ ।”
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उपमहानिर्देशक रेग्मीले हाल जोखिमको सम्भावना नरहेपनि कोसी प्रदेशको एकदुई ठाउँमा मध्यम वर्षासम्म पनि हुन सक्ने बताउनुभयो । साथै उहाँले कोसी प्रदेशबाट समेत आज रातिदेखि नै मनसुनी वायुको प्रभाव बाहिरिने अवस्था रहेको बताउनुभयो ।
“जोखिमको सम्भावना त अहिले कहीँ पनि देखिँदैन । त्यस्तो ठुलो सम्भावना पनि छैन । जोखिमको सम्भावना छैन । वर्षाको सम्भावना केही क्षेत्रमा हुनसक्छ, खासगरी कोशी प्रदेशको अझै पनि केही भू–भागहरूमा हल्कादेखि मध्यम वर्षा पनि हुन सक्छ । त्यस्तो अवस्था आज दिनभरि मात्र रहन्छ । त्यसपछि करिब आज रातिदेखि भनौँ, रातिबाट त पूरै यो प्रणाली चाहिँ बाहिरिने अवस्था छ,” उहाँले भन्नुभयो ।