सर्लाही, १८ असोज । जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने पूर्वानुमान रहेकाले जिल्लाभर बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै जिल्लावासीलाई अविरल वर्षाको कारणले जोखिम बढ्ने देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । प्रशासनले १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ ।
सम्भावित विपद्जन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि क्विक रेस्पोन्स टिम र इन्सिडेन्ट रिस्पोन्स टिम तयारी अवस्थामा राखिएको पनि जानकारी प्रशासनले दिएको छ ।
बागमती, लखनदेही, झिम र बकैया नदी किनार क्षेत्रमा भारी वर्षासँगै पानी पसेर आसपासका बस्ती डुबानमा पर्न सक्ने भएकाले प्रभावित नागरिकलाई आवश्यक परे स्थानीय तहले सुरक्षित स्थानमा सार्न भनिएको छ ।
त्यस्तै, विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुले आफूसँग रहेका डोजरलगायतका उपकरणहरु र इन्धन ट्यांकर जस्ता उपकरण सुरक्षा निकायले राहत उद्वारका लागि खोजेको बखत उपलब्ध गराउने गरी तयारी अवस्थामा राख्न समेत आग्रह गरिएको छ ।
स्थानीय तहका विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था र स्वयंसेवकलाई निरन्तर समन्वयमा रही उद्धार तथा राहतका पूर्वतयारीमा लाग्न प्रशासनले आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई पनि आकस्मिक अवस्थामा तत्काल सहयोग र राहत वितरणमा जुट्न आह्वान गरिएको छ ।