खोक्सिकमा ‘एक घर एक धारा’ अभियान अन्तिम चरणमा

17

भोजपुर, १७ असोज । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा सञ्चालन गरिएको ‘एक घर एक धारा’ निर्माण काम अन्तिम चरणमा पुगेको छ । स्थानीयलाई स्वच्छ पानीको सहज पहुँच विस्तार गर्ने उद्देश्यले योजना सञ्चालन गरिएको हो ।

वडाबाट निर्माण तथा मर्मत गरिएका योजनाहरुमार्फत धारा जडान भएपछि स्थानीयले घण्टौँ समय खर्चेर पानी जोहो गर्नुपर्ने समस्या अन्त्य भएको छ । वडाले करिब १५ लाख रूपैयाँ बजेट विनियोजन गरेर यहाँ पुराना मुहानको मर्मतसँगै नयाँहरु योजना सञ्चालन गरेपछि स्थानीय सहज रुपमा पानीको पहुँचमा जोडिएका छन् ।

खोक्सिक क्षेत्रमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि भइरहेको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । धेरै वटा पुराना पानी ट्याङ्की मर्मत कार्यसमेत सम्पन्न भएकाले दशकौँदेखिको पानीको समस्या अन्त्य भएको उहाँको भनाइ छ । यहाँ निर्माण भएका खानेपानी योजनाहरु ३०÷३२ वर्ष पुराना भएकाले विभिन्न समस्या देखिएपछि स्थानीयलाई सहज रुपमा पानी वितरणका लागि संरक्षणको काम गरिएको वडाध्यक्ष राईको भनाइ छ । “हामीले जीर्ण खानेपानी आयोजनाको पनि मर्मतसम्भार गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “विगतका योजना धेरै पुराना भएकाले पानी वितरण समस्या छ । स्थानीयलाई सहज रुपमा पानी खाने वातावरण बनाउने संरक्षणका काम गरेको हौँ ।”

खोक्सिक सुक्खाग्रस्त क्षेत्र भएकाले खानेपानी, विद्युत् र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाले जनाएको छ । साथै, पुराना पानी ट्याङ्कीको मर्मत तथा नयाँ खानेपानी मुहानको खोजीलाई निरन्तरता दिइएको पनि वडा कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...