बाजुरामा बालीनाली भित्र्याउन भ्याइनभ्याइ

11

बाजुरा, १६ असोज । बाजुराका किसान यतिबेला धानबाली भित्र्याउनमा व्यस्त रहेका छन् । यहाँका किसानलाई दसैँभन्दा कामको चटारो बढेको हो । असारको महिना लगाएको धानबाली यतिबेला धमाधम काट्ने, चुट्ने काम चलिरहेको छ ।

यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने, घाँस काट्नेलगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दसैँभन्दा पनि काम प्यारो बनेको हो । हरेक वर्ष दसैँभन्दा अन्नबाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यतिबेला पनि बालीनालीमै व्यस्त छन् ।

यहाँको त्रिवेणी, बुढिगङ्गा, खप्तड छेडेदह, गौमुल, बडीमालिका, बुढिनन्दा, स्वामाकार्तिक, हिमाली जगन्नाथका किसानलाई यतिबेला धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने, चुट्ने कामको भ्याइनभ्याइ छ । गाउँगाउँका खेतबारीमा निकै चहलपहल छाएको छ भने यहाँका मानिस बिहानै राति अबेरसम्म खेतमै कामकाजमा जुटेका देखिन्छन् ।

यतिबेला दसैँ तिहारभन्दा पनि काम प्यारो बनेको बडीमालिका नगरपालिका वडा नम्बर ७ का स्थानीय शुभराज तिमिल्सेनाले बताउनुभयो । खेतमा पाकेको धानबाली, कोदोलगायत झुमरो, चिनो र फापर काट्ने, सुकाउने काम दैनिकी बनेको तिमिल्सेनाले बताउनुभयो ।

अन्नबाली घर भित्र्याउनुपर्ने चटारोले बिहानै खेतमा पुगेपछि राति अबेरसम्म खेतमै काम गर्नुपर्ने बाध्यता रहेको तिमिल्सेनाको भनाइ छ । मौसम बिग्रिएपछि वर्षभरको मेहनत खेर जाने हुँदा समयमै किसानहरु बाली भित्र्याउने काममा लाग्ने गरेको बताउनुभयो ।

बारीमा झुरीमुरी पाकेको धान भित्र्याउन किसानलाई चटारो छ । ९ वटै स्थानीय तहका हरेक गाउँबस्तीका खेतबारीमा, महिला, पुरूष, बालबालीका बिहान दिउँसो बारीमै व्यस्त हुने गरेका छन् । महिलाहरुलाई धान काट्न चटारो छ भने पुरुषलाई काटेको धानलाई चुटेर घरमा भित्र्याउने चटारो छ ।

जिल्लामा धान खेतीका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिञ्चित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिञ्चित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकं रहेको छ । त्यस्तै, कुल खेती गरिएको जमिन २६१६ हेक्टर छ । कुल खेती गरिएको क्षेत्रफलको २७.३५ मा धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो।

बाजुरामा आर्थिक बर्ष २०८०/८१ मा १६ हजार ५६५ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८१/८२ मा कुल ७ हजार ३०३ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो यसवर्ष पनि राम्रो धान उत्पादन हुने अपेक्षा लगिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

पछिल्लो समय बाजुरामा पनि उन्नत जातका धान लगाउने प्रचलन बढेको छ । विशेषगरी रामधान, जुम्ली, सावित्री, हिमाली धान, खुमल जस्ता उन्नत धान लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...