- प्रमिला कार्की
काठमाडौँ, १३ असोज । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो विशिष्ट स्थान बनाइसकेका गायक हुन् डेभिड शंकर । जसले अहिले गायकीको नेपाली बजारमा लोकप्रिय स्थान बनाइसक्नुभएको छ ।
पाँचथरको रानीगाउँमा जन्मिनुभएका डेभिड शंकरले बाल्यकालदेखि नै गीत गुनगुनाउने गर्थे । २०६२ मा ‘पाँचथर तारा’ र २०६४ मा ‘मेची तारा’ को उपाधि जितेपछि उहाँको सांगीतिक यात्राको ढोका खुलेको हो ।
उहाँले कैयौँ आधुनिक गीतहरू गाए पनि चलचित्रका गीतहरूबाट बढी लोकप्रियता पाउनुभयो । ‘पञ्चेबाजा’ चलचित्रको ‘घिनघिन मादल’ र ‘छक्का पञ्जा–३’ को ‘पहिलो नम्बरमा’ गीतले उहाँलाई घर–घरमा चिनाएको थियो । हालसम्म उहाँले ५०–६० भन्दा बढी चलचित्रका गीतहरूमा स्वर दिइसकक्नुभएको छ । त्यसो त उहाँले चलचित्र गीत बाहेक अन्य आधुनिक गीतहरुमा पनि नगाएका होइन, तर उहाँले गाएका फिल्मका गीतहरुमा दर्शक श्रोताहरुले अत्ति नै रुचाए । गीत/संगीतको यात्रा र दसैँको मौका छोपी उहाँसँग नेपाल न्यूज बैंकले दसैँ विषेश कुराकानी गरेको छ । कुराकानीमा उहाँले अरु वर्षभन्दा यस वर्ष दसैँको उल्लासपूर्ण महसुस कम भएको बताउनुभयो।
गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको घट्नाले देश दुखिरहेको अवस्था रहेको बताउँदै उहाँले सोही कारणले पनि आफूलाई पनि दसैँ आएको जस्तो महसुस नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस पटक अरू बेलाको भन्दा अलिकति फरक खालको महसुस भइरहेको छ । खास भन्ने हो भने यस पटक खासै दसैँ आएजस्तो पनि लागिरहेको छैन, किनभने देश अहिले विषम् परिस्थितिमा छ । देश दुखिरहेको अवस्थामा छ । अहिले देश उथलपुथल भएको जस्तो देखिएको छ । यो सायद सम्भवतः नेपाली इतिहासमा यो खालको आन्दोलन कहिले भएको थिएन । जेनजी आन्दोलनले झन्डै ३० घण्टाको अन्तरालमा एउटा सरकार गिरायो । लगभग ७०–७५ जना मान्छेहरू सहिद हुनुभयो । त्यो हिसाबले पनि देश अहिले रोइरहेको अवस्थामा छ । दसैँ त्यति सारो रमाइलो लागिरहेको छैन । मान्छे भावुक अवस्थामा हुनुहुन्छ । अनि आफूलाई पनि दसैँ आएको जस्तो महसुस अलि कम भएको छ ।”
त्यस्तै, उहाँले भावुक हुँदै दसैँ नजिकिँदै गर्दा मनमा हर्ष, उल्लास र उमंग हुनुपर्ने ठाउँमा आन्दोलनका तस्बिरहरु आँखामा घुमिरहेको बताउनुभयो । यद्यपि, उहाँ आफ्नो परिवारसँग बसेर सामान्य दसैँ मनाउने सोचमा हुनुहुन्छ । उहाँले भावुक हुँदै भन्नुभयो,“मनाउन त अफकोर्स मनाइन्छ नै, त्यसमा कुनै दुविधा छैन । तर, जुन एक किसिमको मनमा हर्ष, उल्लास, उमंग हुन्थ्यो नि, त्यो कता कता नभएको जस्तो लाग्छ । आन्दोलनका ती तस्बिरहरू आँखामा घुमिरहेको अवस्थाले गर्दा पनि हो । किनभने भर्खरै एक महिना पनि नभएको अवस्था छ । तर, पनि अब आफूले जुन हिसाबले दसैँ मनाइन्थ्यो, त्यो अलि कम हुन्छ । परिवारहरुसँग नै बसिन्छ ।”
यसैगरी उहाँले दसैँ भनेको वर्षमा एकचोटी आउने चाड भएकाले टाढा–टाढा भएका आफन्तहरुलाई भेट्ने समय समेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँ भनेको पक्कै पनि वर्षमा एकचोटी आउने चाड, टाढा–टाढा भएको दाजुभाइ, दिदीबहिनी, आमाबुवा, साथीहरूसँग भेट्ने समय हो ।”
कुनै समयमा आफूले दसैँ मनाउन नपाउँदाको दुःखद् क्षण पनि उहाँको स्मृतिमा अझै ताजा छन् । कलाकारिता क्षेत्रमा जोडिएपछि व्यस्तताका कारण आफ्नो परिवारसँग बसेर चाडपर्व मान्न नपाउनुलाई उहाँले स्वभाविक लिनुभएको छ । तर, विगतको त्यो पल स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ कार्यक्रमको सिलसिलामा देश बाहिर जानुपर्ने हुन्छ अथवा देशभित्रै हुँदा पनि दसैँको दिनको प्रोग्राम हुन्छ । त्यसअर्थमा थुप्रै प्रोग्रामहरूले गर्दाखेरि आफ्नो परिवारहरूसँग बसेर दसैँ मनाउन नपाएको समय छ ।”
गायक डेभिड भन्नुहुन्छ, “केही वर्ष अगाडिको कुरा हो, म काठमाडौँमा पढ्दै थिएँ । त्यो एक सांगीतिक कार्यक्रमभन्दा बाहिरको प्रसंग हो । दसैँको समय थियो । म घर जान पाएको थिइनँ— सम्भवतः पहिलोपटक परिवारदेखि टाढा बसेर दसैँ बिताउने मौका थियो । त्यस बेलामा म बानेश्वरमा बस्दै आएको थिए । बानेश्वरबाट तीनकुनेतिर हिँड्दै गएको थिएँ । गाडीहरु खासै थिएनन्, सडक सुनसानजस्तै लाग्थ्यो । बाटोमा थोरै मात्र मान्छे देखिन्थे । अधिकांशको निधारमा टिका लागेको देखिन्थ्यो । मैले भने टिका लगाएको थिइनँ । त्यो दिन खाली निधारमै सडक किनारामा हिँडिरहँदा आफैँ भावुक हुन्छु ।”
उहाँको विचारमा पहिला र अहिलेको दसैँ मनाउने तरिकामा निकै परिवर्तन भएको छ । पहिलेको दसैँमा जुन आत्मियता र उमंग थियो अहिलेको दसैँमा उनी खासै देख्नुहुन्न । अझ सामाजिक सञ्जालको प्रयोग चाडपर्वहरुको आत्मियतापनि हावी भएको उहाँको बुझाइ छ ।
उहाँले भन्नुभयो,“पहिला र अहिले फरकभन्दा समय गतिशील छ । समय परिवर्तनशील छ । हिजो हामीले बिताएको दसैँमा एक किसिमको आत्मियता थियो । त्यो एउटा उमंग थियो । अब अहिले समय परिष्कृत भयो, अहिले सबै आ–आफ्नो किसिमको व्यस्त छन् । सोसल मिडियाहरू त्यत्तिकै आइरहेको छन् । त्यसले गर्दाखेरि मान्छेहरूको अहिले व्यस्तता भयो । सामूहिक रमाउने भन्दा पनि सेल्फमा घण्टौँ बिताइदिने समय आएको छ । पहिला जुन एक किसिमको दसैँ भन्दाखेरी दाजुभाइ, दिदीबहिनी टाढा–टाढाबाट घर जाने, हुन्छ नि, देश–परदेशबाट आफ्नो जन्मघर आउने, त्यो थियो भने अहिले त्यो कम भएको हो कि जस्तो लाग्छ । हुनत मान्छेलाई आफ्नो जन्मघर जाने, परिवारहरूसँग, सबैसँग बस्ने रहर त पक्कै पनि हुन्छ होला तर त्यस्तो वातावरण कम भएको महसुस हुन्छ ।”
दसैँ चाड र संगीतबीचको सम्बन्ध सुमधुर हुने उहाँको ठम्याइ छ । दसैँको बेला बज्ने गीत संगीतहरुले थप हर्ष र उमंग ल्याउने उहाँको भनाइ छ ।
“दसैँ भन्नेबित्तिकै आफैँमा पनि नेपालीहरूको महान चाड हो । यसमा मान्छेलाई दसैँ भन्नेबित्तिकै, एक किसिमको हर्ष, उल्लास, उमंग आउने, शरीरमा फुर्ती आउने गर्छ । मौसम पनि घमाइलो हुन्छ । अनि धानको बालाहरू झुल्ने बेला भएको हुन्छ, त्यो कोदो फुलेको समय, एउटा बिछट्टै रमाइलो, एक किसिमको मनै अर्कै हुने खालको हुन्छ,” उहाँले भन्नुभयो, “अब गीत–संगीत, त्यो वातावरण खुबै आनन्ददायी हुन्छु । गीत–संगीत घन्किँदा त त्यसले त अर्कै बनाइ नै हाल्छ । दसैँ साँच्चिकैको चाड हो जस्तो महसुस हुन्छ । थुप्रै चाडहरूको आ–आफ्नै विशेषता छ, तर दसैँ तिहारभन्दा धर्म र संस्कृतिसँग पनि सम्बन्धित हुन्छ ।”
गायक डेभिड शंकरका लागि दसैँ केवल चाड मात्र नभएर सांगीतिक आत्मा बोकेको स्मृति र अनुभूतिहरूको संग्रह हो । तर, यसपालि देशको हालको अवस्था र जनआन्दोलनले दसैँको रौनक कम गरिदिएको उहाँ भावुक हुँदै सुनाउनुहुन्छ ।