काठमाडौँ, १२ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भइ अगाडि बढ्ने स्पष्ट संकेत दिनुभएको छ ।
आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गर्नुभयो ।
“हामी देश र जनतालाई माथि राखेर फेरि उठ्न सक्छौँ । कांग्रेस फेरि माथि उठ्छ,” उहाँले भन्नुभयो, “लोकतन्त्रलाई कमजोर पार्न खोज्ने र देशलाई अस्थिर बनाउन चाहने शक्ति सफल हुने छैनन् । हामी एकीकृत भएर लोकतन्त्रको रक्षा र देशको मजबुतिका लागि अगाडि सर्छौँ ।”
उहाँले पछिल्लो समय राजनीतिक दलहरुविरुद्ध षड्यन्त्रपूर्वक आत्मविश्वास घटाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेस त्यो षडयन्त्रको शिकार बन्न नदिने बताउनुभयो । “हाम्रो आत्मविश्वासलाई थाङथिलो पार्ने योजनाअन्तर्गत सबै षड्यन्त्र गरिएको हो,” महतले भन्नुभयो, “तर, कांग्रेस पार्टी सधैँ लोकतन्त्र, जनता र राष्ट्रको पक्षमा दृढताका साथ उभिएको छ ।”
पार्टी कार्यालय र नेताहरुका घरमा भएको तोडफोड र आगजनीप्रति टिप्पणी गर्दै महतले त्यस्ता घटना कांग्रेसको आत्मबल तोड्न नसक्ने जिकिर गर्नुभयो । “हामी पुनः जागरुक भएर उठ्नेछौँ,” उहाँले दृढताका साथ भन्नुभयो ।
उहाँले नेपाली कांग्रेसभित्र रहेका कमजोरी र त्रुटिहरूको समीक्षा गर्दै नयाँ सोचसहित अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । “हामीमा भएका कतिपय कमजोरी र त्रुटिहरूको समीक्षा हुनेछ,” महतले भन्नुभयो, “अब हामी नेपाललाई विकास, निर्माण र रोजगारीको दिशामा लैजानेबारे गम्भीर चिन्तन गर्छौँ ।”
डा.महतले राजनीतिक दलहरू बलिदान र त्यागबाट बनेका हुनाले तिनलाई कमजोर पार्ने कुनै षड्यन्त्र सफल नहुने विश्वास व्यक्त गर्नुभयो । साथै, पार्टी पंक्तिलाई आत्मविश्वासका साथ एकीकृत हुन पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेस पार्टीले अनेकौँ आँधीबेहरीमा लोकतन्त्रको पक्षमा, जनताको पक्षमा र देशको पक्षमा सधैँ उभिएको छ । आत्मविश्वासका साथ उभिएको छ । त्यो आत्मविश्वास जोगाउन सम्पूर्ण पार्टी पङ्क्ति एकीकृत हुन अनुरोध गर्दछु ।”