हुम्ला, १० असोज । मुगुको सोरु गाउँपालिका भिइमा आयोजना गरिएको फुटबल खेलको सुरुवातमै आपसी कुटाकुट हुँदा चार जना घाइते भएका छन् । घाइते भएका तीन जनालाई हेलिकोप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँ लगिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताउनुभयो ।
बडादसैँका अवसरमा अलस्टार युवा क्लबद्वारा आज आयोजित उक्त फुटबल प्रतियोगिताको औपचारिक कार्यक्रमको सुरुमै आपसी झडप भएको थियो । उक्त गाउँपालिका–३ का पवन कार्कीलगायतको टिमले धारिलो हतियार प्रहार गर्दा सोही वडाका प्रकाश धामी, प्रकाश कार्की, जीवन धामी र हिक्मतजङ्ग धामीलाई गम्भीर चोट लागेको थियो । झडपमा परी गम्भीर घाइते भएकामध्ये तीन जनालाई गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टरमार्फत् उपचारका लागि प्रदेश अस्पताल पुर्याएको प्रजिअ खत्रीले बताउनुभयो ।
उक्त घटनाबारे वडाध्यक्ष सिंहबहादुर धामीले घटनास्थलमा आफू नभएकाले खासै जानकारी नभएको बताउनुभयो । तर गत वर्षको पुरस्कार नदिएको भन्दै यसअघि खेलाडीहरू रिसाएकाले कुटाकुट भएको भन्ने आफूले सुनेको उहाँले बताउनुभयो ।
यता घटनाको मुचुल्का गर्न पुगेका सोरुबर्मा प्रहरी चौकी इञ्चार्ज देबबहादुर खड्काको टोली घटनास्थल पुगेको छ । तत्काल घटनाको यथार्थबारे केही भन्न नसकिने अवस्था रहेको इञ्चार्ज खड्काले बताउनुभयो ।
प्रजिअ खत्रीका अनुसार उहाँहरू उक्त घटना विगतकै विवादका कारण भएको बताउनुभयो । केही समय अगाडि पनि सो समूहबीच कुटाकुट भएको थियो । तर, आजको घटनामा धारिलो हतियार प्रयोग गर्ने पवन कार्की भनिने व्यक्ति भर्खरै केही महिनाअघि मात्र जेलबाट छुटेको बताउनुभयो । -रासस