अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठुलो विद्रोह हुन्छ : मन्त्री घिसिङ

29

काठमाडौँ, १० असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठुलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने बताउनुभएको छ ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणले ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उहाँको चेतावनी दिनुभयो।

“मेरो र प्रधानमन्त्रीज्यूको पनि ठुलो इच्छा छ–नेपाललाई सुशासनको दिशामा अगाडि बढाउने र कसैले अनियमितता र भ्रष्टाचारको कुनै किसिमको गन्ध आयो भने तत्काल कारबाही गर्ने निर्देशन पनि छ,” उहाँले भन्नुभयो, “त्यसलाई हामीले हुबहु कार्यान्वयन गर्नुपर्छ । यसमा कसैलाई छुट छैन । यो विषयमा हामी चुक्यौँ र कतै यस्तो क्रियाकलाप भयो भने वा गर्न सकेनौँ भने यो देशमा अर्को ठुलो विद्रोह हुनेछ । त्यो विद्रोहले कसैलाई पनि छाड्ने छैन ।”

देशमा सुशासन कायम गरी युवा पुस्ताको चाहना पुरा गर्न गम्भीर रुपमा सबैजना लाग्नुपर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो देशमा सुशासन कायम गर्नेलगायत देशमा भएका विभिन्न बेथितिहरुलाई अन्त्य गरेर देशलाई समृद्धितिर बढाउन देशभित्र नै बसेर काम गर्ने वातावरण बनोस् भन्ने युवा पुस्ताको चाहना पूरा गर्ने गम्भीर रुपमा लाग्नु पर्नेछ ।”

यस्तै, उक्त कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले कुलमानको प्रशंसा गर्दै प्राधिकरणलाई उचाइमा पुर्‍याउनुभएको बताउनुभयो ।

“आज हामी गौरवका साथ भन्दै छौँ, उहाँले जुन हिसावले हाम्रो संस्थालाई एउटा उचाइमा पुर्‍याउनुभयो, जुन मार्गचित्र कोर्नुभयो हामी त्यही मार्गमा हिँडिरहेका छौँ,” उहाँले भन्नुभयो, “तपाई (कुलमान)ले जुन हिसावले संस्थाको प्रगतिको उकालो लाग्दो ग्राफ तयार गर्नुभएको छ त्यो ग्राफलाई तल झर्न दिने छैनौँ भन्नेमा म विश्वस्त छु । यसमा सबै कर्मचारी साथीहरुको सहयोग प्राप्त हुनेछ ।”

Share This:
सम्बन्धित खबर
Loading...