काठमाडौँ, १० असोज । साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएपछि प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।
श्रीलङ्काको कोलम्बो रेसकोर्समा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै अन्तिम चारबाट बाहिरिएको हो । जितसँगै भारत भने साफ यू–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले समान एक–एक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
गुनलेइबाले खेलको ६१औँ मिनेटमा गोल गरे भने अजलानले खेलको ८०औँ मिनेटमा गोल गरे । त्यस्तै, खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भारतका अर्का खेलाडी डायमन्डले एक गोल थपे । नेपाल समूह ‘ए’को उपविजेता तथा भारत समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो ।
त्यसैगरी भारतले भने समूह चरणका तीनवटै खेल जितेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको भारतले त्यसपछि भुटानलाई १–० र पाकिस्तानलाई ३–२ ले पराजित गरेको थियो ।