काठमाडौँ, ९ असोज । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न पुराना राजनीतिक दलहरु सच्चिनुपर्ने बताउनुभएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले वैकल्पिक राजनीतिक अभियन्ताहरुले नेतृत्वका रुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने भन्दै पुराना राजनीतिक दलहरु कि सच्चिनुपर्ने कि सकिनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई प्रोत्साहत गर्न पुराना दलहरु सबैले आफूलाई रुपान्तरण गर्नुपर्छ । एउटा भनाइ छ स्थापित भएपछि कि सच्चिनुपर्छ कि सकिनुपर्छ भन्ने छ । त्यसकारण हाम्रो वैकल्पिक राजनीतिक अभियन्ताहरुले पनि आफ्ना समूहहरु, पार्टीहरु छन् त्यहाँ सकेसम्म नयाँ पुस्तालाई अगाडि सार्ने प्रयत्न गर्नुपर्छ ।”
डा.भट्टराईले राजनीतिमा नव युवकहरुले ढोका ढकढक्याइसकेपछि आफूले पद त्यागेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “मैले किन पद त्याग गरेँ भने नैतिक हिसावले पनि नव युवकहरुले ढोका ढकढकाइसके र नातीनातिना पुस्ता अगाडि आइसके । उनीहरुलाई प्रोत्साहन दिनुपर्छ । उनीहरुले नेतृत्व गर्नुपर्छ भनेर बाटो क्लियर गरेको हुँ ।”
उहाँले जेनजी आन्दोलनले धनजनको क्षतिका बाबजुत पनि नयाँपुस्ता यस क्षेत्रमा आउनु यसको ऐतिहासिक एवम् सकरात्मक पक्ष रहेको बताउनुभयो ।