काठमाडौँ, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरुको छानबिनका लागि सहयोग गर्ने बताएको छ ।
मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले अरु पार्टीले आफ्ना कार्यकर्ता बचाउन अग्रसर रहेको भन्दै रास्वपाले भने अनुसन्धानमा राज्यलाई सघाउने बताउनुभयो ।
उहाँले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरुको तस्बिर र भिडिओहरु सार्वजनिकरुपमा आउँदा आत्मालोचनासहित राजीनामा दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पोखराका केही घटनाहरुमा केही साथीहरुको तस्बिर र भिडिओहरु आयो । सैद्धान्तिक निर्णय केन्द्रले गरेको आधारमा कास्की जिल्ला समितिले आफैँ दुई जना वडा सभापतिहरुलाई कारबाही गर्यो ।”
साथै उहाँले अरु पार्टी भने कार्यकर्ताको संरक्षण र अपराधिकरणको संरक्षण गरिरहेको बताउनुभयो । “तस्बिर आइसक्यो, भिडिओ आइसक्यो, प्रमाणीत भइसक्यो, प्रमाणसहित समाचार आइसक्दा पनि अरु पार्टीले आफ्नो कार्यकर्ताको संरक्षण र अपराधिकरणको संरक्षण गरिरहेको छ । राज्यले जुन अनुसन्धान, छानबिन गर्दै छ । त्यसलाई सघाउ पुर्याउन तयार छौँ । अभियोगहरुका बारेमा छानबिन गर्न आग्रह पनि गर्दछौँ,” उहाँले भन्नुभयो ।
उहाँले नक्खु कारागारमा आगलागी नगर्न रोक्दै गरेको भिडिओमा अरू क्लिप राखेर आफूमाथि गलत आरोप लगाइएको पनि बताउनुभयो ।
उहाँले आफ्नै पार्टी सभापति दुई मिटर टाढा रहेको र सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगाउँछ कि भन्ने डरले रोक्न गएको बताउनुभयो । उहाँले आफूमाथि छानबिन गर्न भन्दै भन्नुभयो, “मेरो छानबिन नहोस् भनेको होइन, ममाथि पनि छानबिन होस् ।”