काठमाडौँ, ७ असोज । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरु जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको छ ।
भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी एवम् कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले युवाहरु देशभक्तिको भावका साथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, “हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ । असभ्य र गैरजिम्मेवार हुनु हुँदैन । देश र समाजप्रतिको कर्तव्य बुझेर युवाहरुले काम गर्नुपर्छ । युवाहरु हावामा कुद्न हुँदैन ।”
उहाँले जेनजी प्रदर्शनका क्रममा देशले ठुलो क्षति व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गर्दै नेपाल र नेपालीलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ । उज्यालो हुन्छ । हामीले हरेस खानु हुँदैन ।”