काठमाडौँ, ६ असोज । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पुनले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहणपछि बोल्दै उहाँले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नलिने भन्दै मन्त्रालयको गाडी पनि कामबाहेक अन्त प्रयोग नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मलाई मन्त्री क्वाटर चाहिँदैन । सचिवज्यूलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने यही एउटा कोठा बनाउनु, त्यहाँ एउटा खाट भए पुग्छ । एउटा टेबुल र एउटा कुर्सी भए हुन्छ । म जहाँ गए पनि जुन ठाउँमा काम गरेको त्यही बस्ने बानी छ । म आफैँ पकाएर खान पनि सक्छु । मैले सुरक्षाकर्मीहरुलाई पनि भनेको छु, मन्त्रालयबाट बाहिर जाँदा मेरो पछि आउनु पर्दैन । मेरो आफ्नो गाडी नभएको हुँदा मन्त्रालयको गाडी भने आउनजान प्रयोग गर्छु । अन्त कतै जानका लागि मन्त्रालयको गाडी प्रयोग गर्दिनँ ।”
यस्तै, उहाँले समितिहरु बनाउने कुरामा नाम मात्रको समिति नबनाउने भन्दै सानै काम भए पनि ठोस हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समिति मात्र बनाएर हुँदैन । पहिला यसमा आर्थिक स्रोत खोज्नुपर्छ । सधैँ मन्त्रालयमा अड्किने कुरा भनेको नै पैसा छैन भनेर हो । नाम मात्रको पनि समिति नहोस् । समिति बनाउने काम नगर्ने हाजिर गर्ने, दुई चार पटक मिटिङ बस्ने अनि जे कुरा पनि पैसाले रोकिने गर्नुभएन । म यो समितिको सदस्य भनेर भिजिटिङ कार्डमा राखेर मात्र भएन । के जे काम गरे पनि ठोस हुनुपर्यो, चाहे सानै होस् ।”
शिक्षा ऐनको बारेमा आफूलाई ज्ञान नभएको भन्दै यसबारे विज्ञहरुलाई इमान्दारिपूर्वक सुझाव दिनुपर्ने पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘शिक्षा ऐनको बारेमा केही थाहा छैन । यो कस्तो ऐन बनाएको हो थाहा छैन । त्यसका लागि विज्ञहरुको टोली बनाउछु । उहाँहरुले जस्तो सुझाव दिनुहुन्छ त्यो अनुसार अगाडि बढ्ने हो । सबै कुरा मैले भनेको हुनुपर्छ भनेर म भन्दिनँ । आज म सबैलाई आह्वान गर्छु विज्ञहरुलाई एकदमै इमान्दारिपूर्वक सुझाव दिनुहोस् । सबैको बुद्धि जम्मा पारेर अगाडि बढौँ भन्ने हो ।’
उहाँले विज्ञान मन्त्रालयले अझसम्म केही काम गर्न नसकेको भन्दै अब ६ महिनामा केही न केही काम भने गर्ने पनि बताउनुभयो ।