एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

13

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री शुशीला कार्कीले जनताको गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षाअनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सूचना प्रविधिमा भएको विकास, अन्तर्राष्ट्रियस्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली खुला सरकारको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षाअनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ ।’

यस्तै, उहाँले शासकीय आकांक्षा बोकेर, कुनै पदको लोभ लिएर प्रधानमन्त्री नभएको भन्दै देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शासकीय आकांक्षा बोकेर कुनै पदको लोभ लिएर प्रधानमन्त्री भएको होइन । देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न नेपालको संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत् जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हो ।’

समयसँगै नागरिकका आवश्यकता र आकांक्षा परिवर्तन हुने हुँदा जनताको अपेक्षाअनुसार राज्य क्रियाशील हुँदै सुधारको बाटोमा हिँडनु पर्ने पनि उहाँको भनाइ छ ।

उहाँले संविधानको मर्म र भावनाअनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणाम पनि वर्तमान अवस्था भएको भन्दै जनताको भावना संविधानका अक्षरभन्दा बढी बहुआयामिक हुने बताउनुभयो।

Share This:
सम्बन्धित खबर
Loading...