काठमाडौँ, ३ असोज । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान दिवसको अवसरमा वर्तमान परिस्थितिलाई आत्मसात् गर्दै संविधानको रक्षा र कार्यान्वयनमार्फत् मुलुकलाई अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ ।
शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले मुलुक अहिले शोकको घडीमा रहे पनि एकताबद्ध भएर अघि बढे शोकलाई शक्तिमा बदल्न सकिने बताउनुभयो ।
‘यतिबेला हामी शोकको घडिमा छौँ,’ उहाँले भन्नुभयो, ‘तर, हामी एकताबद्ध भएर अझै दरो एकताका साथ अगाडि बढ्ने हो भने शोकलाई शक्तिमा बदल्न सक्छौँ ।’
शाक्यले अहिलेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधार भएको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयनमै देशको भविष्य रहेको बताउनुभयो । ‘हामी अत्तालिन जरुरी छैन, निराश हुन पनि जरुरी छैन,’ उहाँले भन्नुभयो, ‘संविधान छ, संघीय लोकतान्त्रिक गणतन्त्र छ, समाजवादको लक्ष्य बोकेको संविधान छ ।’
उहाँले वर्तमान राजनीतिक संरचनामध्ये राष्ट्रपति, उपराष्ट्रपति, प्रदेशसभा र स्थानीय सरकार कायम रहेको स्मरण गराउँदै प्रतिनिधिसभा विघटन नभएको भए अझ राम्रो हुने धारणा पनि राख्नुभयो ।
शाक्यले संविधानलाई समयअनुकूल परिमार्जन गर्न सकिने सम्भावनाको संकेत पनि दिँदै भन्नुभयो, ‘संविधानलाई आत्मसाथ गरेर नयाँ नेपालको लागि अगाडि बढ्न जरुरी छ। संविधान परिस्थिति अनुकूल परिमार्जन गरेर पनि सबैको सरसल्लाहमा अघि बढ्न सकिन्छ ।’