पेरिस, २ असोज । बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनहरूले आह्वान गरेको हड्ताल र सडक प्रदर्शनहरू बिहीबार फ्रान्सभरि हुने अपेक्षा गरिएको छ ।
नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ठुलो घाटा र ऋण नियन्त्रणबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला यो कदम आएको हो ।
युनियनहरूले लेकोर्नुलाई अघिल्लो सरकारले प्रस्ताव गरेको बजेट मस्यौदा फिर्ता लिन आग्रह गरेका छन् । उक्त योजनामा सामाजिक कल्याण स्थगन र मितव्ययिता उपायहरू समावेश छन्, जसले कम तलब र मध्यमवर्गीय कामदारहरूको क्रयशक्ति घटाउने चेतावनी उनीहरूले दिएका छन् ।
गत हप्ता जारी संयुक्त विज्ञप्तामा युनियनहरूले यी उपायलाई ‘अभूतपूर्व क्रूरता’ भन्दै, कामदार, अस्थायी रोजगारीमा रहेका, सेवानिवृत्त र बिरामीहरूलाई मूल्य चुकाउने बनाएको आरोप लगाएका थिए ।
युनियनहरूले राष्ट्रपति इमानुएल म्याक्रोनको पेन्सन सुधारसमेत अस्वीकार गर्दै आएका छन्, जसअनुसार न्यूनतम सेवानिवृत्ति उमेर ६२ बाट ६४ मा बढाइएको छ ।
पूर्वगृहमन्त्री ब्रुनो रिटेलियोले बिहीबार सडकमा ‘धेरै बलियो परिचालन’ हुने बताउनुभएको छ । उहाँका अनुसार करिब ८० हजार प्रहरी र जेन्डरमेरी अफिसरहरू देशभर तैनाथ हुनेछन् ।
उहाँले बिहानै अवरोध, तोडफोड र अति वामपन्थी समूहहरूको सम्भावित हिंसात्मक गतिविधिबारे चेतावनीसमेत दिनुभयो । भोलिपल्ट पनि धेरै फ्रान्सेली सहरमा प्रदर्शन हुने उहाँले बताउनुभयो ।
सार्वजनिक यातायात, अस्पताल र विद्यालयलगायत धेरै क्षेत्रमा अवरोध हुने अनुमान छ । फ्रान्सेली राष्ट्रिय रेल कम्पनी एसएनसिएफले फ्रान्स र युरोप जाने उच्च गतिको रेलहरूमा ‘केही अवरोध’ हुने अपेक्षा गरे पनि अधिकांश रेल चल्ने जनाएको छ । तर, क्षेत्रीय रेल लाइन, पेरिस मेट्रो र यात्रुवाहक रेलहरू बढी प्रभावित हुनेछन् ।
हवाई यातायातमा भने मुख्य नियन्त्रक युनियनले नयाँ मन्त्रिमण्डल नबनेसम्म हड्ताल स्थगित गरेपछि सीमित मात्र अवरोध हुने देखिएको छ ।
गत हप्ताको विरोध प्रदर्शनमा धुवाँ, आगो, अवरोध र अश्रु ग्याँसले सडकमा तनाव चुलिएको थियो । पूर्ण अवरोधको लक्ष्य पुरा नभए पनि ‘ब्लक एभरिथिङ’ अभियानले दैनिक जीवनका धेरै भाग अवरुद्ध पारेको र सयौँ स्थानमा तनाव भड्काएको अधिकारीहरूले बताएका छन् । –एपी