आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत

17

काठमाडौँ, २ असोज । जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टीभित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्दै समयको अभाव भएको बेलामा पार्टीभित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,“फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔँ, अन्यत्र शक्ति खेर नफालौँ । पहिला निर्वाचनमा जनमत पार्टीलाई नम्बर १ विजयी पार्टी बनाउनेतिर लागौँ । फाल्गुन २१ गतेको लागि निर्वाचनको घोषणा भइसकेको छ, सबैदलहरूले मानिसकेका छन् र तैयारीमा जुटिसकेका छन्, निर्वाचन आयोग पनि तयारीमा जुटिसकेको छ । हामीसँग धेरै समय छैन । मुस्किलले साढे ५ महिना समय छ । दुई–तीन महिनापछि पार्टी दर्ता गर्ने र समानुपातिक सूची बुझाउने समय पनि आइसक्छ । यस्तो समयको अभाव भएको बेलामा पार्टीभित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र हुँदै छ । त्यसैले अरूले जे–जस्तो गरे पनि हामीले ध्यान नदिऔँ, त्यसको पछि लागेर, त्यो विषयमा छलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौँ ।”

त्यस्तै, उहाँले यो निर्वाचन आफूहरुका लागि महाभारत र अग्निपरीक्षा भएको भन्दै निर्वाचनको तयारीमा गाउँ–गाउँ टोल–टोलसम्म जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“हामी सबभन्दा पहिला हाम्रो लागि जुन महाभारत हो, अग्निपरीक्षा हो, त्यस निर्वाचनको तयारीमा गाउँ–गाउँ टोल–टोलसम्म जुटौँ । नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौँ, बुथ समिति र युवा दस्ता गठन गरौँ, प्रशिक्षण दिऔँ, परिचालन गरौँ । हरेक निर्वाचन क्षेत्रमा चुनाव कसरी जित्ने त्यतातिर लागौँ । निर्वाचनपछि सबै कुराको छलफल बहस हुने नै छ । निर्वाचनमा पूरा मधेस कब्जा गरेर र देशकै निर्णायक शक्ति बनेर हामी देखाऔँ । त्यो नै हाम्रो विजय हुनेछ,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...