मैले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेण्डा छाडेको छैन : सुमना श्रेष्ठ

12

काठमाडौँ, २९ भदौ । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडे पनि परिवर्तनको एजेण्डा नछाडेको बताउनुभएको छ ।

आइतबार बिहान समाजिक सञ्जाल फेसबुकमार्फत् आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरि फेसबुक लाइभमा आएर यस्तो बताउनुभएको हो ।

आफ्ना शुभचिन्तकहरुले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिँदै उहाँले भन्नुभयो, “मलाई धेरै जनाले आज किन पार्टी छाडेको ? यस्तो गर्नु हुँदैन थियो भनिरहेका छन् । मैले आजसम्म उक्त पार्टीभित्र रहेर जति काम गर्न सकेँ त्यो तपाईहरु सबैको साथले भएको हो । मैले पार्टी छाडेको हुँ तर, पार्टीभित्र मैले जुन एजेण्डा बोकेर गएकी थिएँ, त्यो एजेण्डा त कहिल्यै छाडेको छैन ।”

परिवर्तनको एजेन्डा बोकेका जेनजी युवापुस्तालाई सबैले साथ दिनुपर्ने उहाँको जोड छ । यतिबेला जेनजी पुस्तालाई बदनाम गर्नेहरु अग्रसर भएको बताउँदै उहाँले त्यस्तो नगर्न र उनीहरुलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । आफूले पार्टीभित्र गर्न नसकेको काम अब, बाहिर आएर गर्न लागेको उहाँको दाबी छ ।

आफूले मन्त्री पदमा जानका लागि पार्टी छाडेको नभइ जेनजी पुस्ताका भाइबहिनीलाई साथ दिनका लागि पार्टी छाडेको दाबी उहाँले गर्नुभएको छ ।

भिडियोको अन्त्यमा भावुक हुँदै उहाँले भन्नुभएको छ,“हामी सबैले चाहेको परिवर्तन हो । कुनै पार्टीभित्र बसेर जेनजीको क्रान्तीलाई बिथोल्न हुँदैन । कुनै दल नसोच्नुस यतिबेला सबैले नेपाल बनाउन लाग्नुस् ।”

Share This:
सम्बन्धित खबर
Loading...