नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो जहाँ सार्वभौमसत्ता जनता स्वयम्मा निहित छ। नेपालको वर्तमान संविधान २०७२ अनुसार नेपाललाई विकेन्द्रीकरणको सिद्धान्तअनुसार संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरिएको छ। बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपाल धर्मनिरपेक्ष राज्य हो, जहाँ हिन्दु, बौद्ध, किराँत, इस्लामलगायत विभिन्न धर्म–संस्कृतिहरूको अस्तित्व रहेको छ।
यस्तै, पृष्ठभूमिमा हालसालै नेपालमा एक ठुलो आकस्मिक परिवर्तन देखा पर्न थाल्यो । एकातर्फ बुढ्यौली उमेरका नेताहरूको शासन–सत्ताप्रतिको बढ्दो मोह र अर्कोतर्फ नयाँ पुस्ता अर्थात् जेनेरेसन जेड (जेनजी) को असन्तुष्टि, यहीँबाट नयाँ प्रकारको क्रान्ति सुरू भयो । विभिन्न समय र कालखण्ड पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानसम्म आइपुगेको देशमा एक्कासी विध्वंसकारी परिवर्तन देखिनु यसको संकेत थियो ।
यस घटनाको मुख्य कारण थियो नेपाल सरकारले फेसबुकसहित अन्य प्रमुख सामाजिक सञ्जालहरूलाई २०८२ भदौ १९ गते (सन् २०२५ सेप्टेम्बर ४)देखि बन्द गर्नु । यी प्लेटफर्महरूले नेपालमा अनिवार्य दर्ता प्रक्रिया पूरा नगरेका कारण, जसअनुसार अनावश्यक वा अप्ठ्यारो सामग्री नियन्त्रण र हटाउने जिम्मेवारीसहितका स्थानीय प्रतिनिधि नियुक्त गर्नुपर्ने प्रावधान थियो । दर्ता नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर आदि अवरुद्ध गर्यो । यसको प्रत्यक्ष प्रभाव भनेको डिजिटल पुस्ता न्भलभचबतष्यल श् माथि पर्यो ।
तत्कालीन समयमा नेपालमा नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन सरकार सत्तामा थियो, जसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । तर, २०८२ भदौ २३ गते न्भलभचबतष्यल श् ले आन्दोलन सुरू गर्यो, जसमा १९ जना प्रदर्शनकारीले ज्यान गुमाउनुपर्यो ।
जेनजी भन्नाले सन् १९९७ देखि २०१२र१५ सम्म जन्मिएका पुस्तालाई जनाइन्छ। डिजिटल युगमै हुर्केका भएकाले यिनीहरूलाई Digital Natives भनिन्छ । बाल्यकालदेखि नै स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जालसँग जोडिएका यी पुस्ता प्रविधिमैत्री, सिर्जनशील र व्यावहारिक छन् । साथै, जलवायु परिवर्तन, समानता, सामाजिक न्याय र विश्व–संस्कृतिप्रति सचेत हुने यो पुस्ता पुराना दल र नेताबाट असन्तुष्ट बनेको थियो ।
नयाँ पुस्ताले स्वतन्त्र रूपमा आन्दोलन गर्दै गर्दा सरकारले गोली चलायो । त्यस क्रममा विद्यार्थीहरूको समेत मृत्यु भयो । आफ्ना साथीहरूको निर्मम हत्या र माग सम्बोधन नगरी सरकारको कठोर दमनले आन्दोलनलाई टर्निङ पोइन्ट बनायो । फलस्वरूप केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुग्यो ।
यद्यपि, यो आन्दोलनमा सधैँ शुद्ध भावना मात्र थिएनन् । केही नक्कली जेनजीहरू पनि सहभागी भए र देशका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदामा क्षति पुर्याए । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, शीतल निवासलगायतका सरकारी संरचना नष्ट भए । नेताहरूका घरहरू जलाइए, तोडफोड गरियो, कतिपय नेताहरू पिटिए पनि । यस सबैको मूल कारण थियो देशमा बढ्दो राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार र एकलौटी शासन ।
जेनजीका वास्तविक युवाहरूले परिवर्तन चाहेका थिए । उनीहरूलाई लाग्थ्यो— हर्क, बालेन जस्ता युवा पुस्ता नेतृत्वमा आए मात्र देश बन्न सक्छ । तर, ओली सरकार ढलेपछि नयाँ राष्ट्रप्रमुख बनाउन सकेनन् । यसको कारण थियो जेनजी आफैँ एकढिक्का हुन नसक्नु, साथै बाहिरी हस्तक्षेप र भ्रमित समूहहरूको उपस्थिति ।
त्यसैबीच कैयौँ युवाले सहिद भएर बलिदान दिए । उनीहरूलाई राष्ट्रका सहिदका रूपमा श्रद्धाञ्जली अर्पण गर्नुपर्छ । उनीहरूले भ्रष्टाचार र दमनकारी सरकार ढाल्न छातीमा गोली खान तयार भएको इतिहास कायम गरे ।
आजको विषम् परिस्थितिमा युवा पुस्ता एकजुट हुनु अत्यावश्यक छ । विगतमा जे भयो, भयोः अब सबै मिलेर देश बनाउनै पर्छ। नयाँ नेतृत्व जेनजीबाटै अब्बल हुनुपर्ने आवश्यकता छ।
अन्त्यमा, सम्पूर्ण राष्ट्रका सहिदहरूलाई गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै, सम्पूर्ण नागरिकलाई आफ्नो–आफ्नो क्षेत्रबाट नागरिक कर्तव्य पूरा गर्न हार्दिक अनुरोध गर्दछु ।
कमल खड्का
झिमरुक–२ बाँदीकोट, प्युठान