निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत् नागरिकलाई सेवा दिनुपर्छ : मन्त्री न्यौपाने

16

काठमाडौँ, २२ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगतवी न्यौपानेले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत् नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने बताउनुभएको छ ।

२२औँ निजामती सेवा दिवस–२०८२ को अवसरमा शुभकामना दिनुहुँदै मन्त्री न्यौपानेले विश्व तीव्र गतिमा रूपान्तरण भइरहेको आज युगमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा, र नवप्रवर्तनशील उपायहरूको उपयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।

व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने भन्दै मन्त्री न्यौपानेले निजामती सेवाले सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका अतिरिक्त यसको कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य हुन्छ । त्यसैले, निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ,’ उहाँले भन्नुभयो ।

‘निजामती सेवामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाइ र सुधारमार्फत् हामीले नागरिकको विश्वास आर्जन गर्न सक्छौँ,’ मन्त्री न्यौपानेले भन्नुभयो, ‘राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता हो ।’

मन्त्री न्यौपानेले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्ने छ भन्ने विश्वास गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...