आलोचना सहन नसकेर इगोका कारण सामाजिक सञ्जाल बन्द गरियो : मनिष झा

11

काठमाडौँ, २२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमा भएको आलोचना सहन नसकेर इगोका आधारमा नेपालमा सूचीकृत नभएको भन्दै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको बताउनुभएको छ ।

डिजिटल मिडिया फाउन्डेसनको आयोजना शनिबार ललितपुरमा भएको आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले सर्वोच्च अदालतको फैसलाका आधारमा टेकेर सरकारले निर्णय गरेको भन्दै अदालतले बन्द गर नभनी नियमन गर मात्र भनेको र नियमन कानुन बनाएर गर्नुपर्ने बताउनुभयो ।

उहाँले यसले राजनीतिक, सामाजिक, आर्थिक र अपराध अनुसन्धानसम्मको चरणमा नकारात्मक असर पर्ने भन्दै सरकार हामीले भनेको नमान्ने ? देखाइदिउँ भन्ने इगोमा पुगेर सामाजिक सञ्जाल बन्द गरेको तर्क गर्नुभयो । उहाँले यसमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको इगोका कारण सामाजिक सञ्जाल बन्द गरिएको दाबी समेत गर्नुभयो ।

सरकारले आपराधिक घटना देखाएर सामाजिक सञ्जाल बन्द गराएको तर, कानुनी बाटोबाट बन्द भए पनि भिपिएन चलाएर हुने अपराध नियन्त्रण झन् जटिल बन्ने बताउनुभयो ।

पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको डिपफेक भिडियो बनाएर भ्रम फैलाउने काम भएपछि प्रहरीको साइबर ब्युरोमा उजुरी दिन जाँदा सामाजिक सञ्जाल बन्द भयो भने यस्ता अपराधमा कसरी अनुसन्धान गर्छ भनेर प्रहरी अधिकारीसँग जिज्ञासा राख्दा अनुसन्धान थप जटिल बन्ने बताएको बताउनुभयो । ब्युरोमा बुझ्दा दैनिक ५८ वटा साइबर क्राइमसम्बन्धी उजुरी पर्ने गरेको जानकारी दिनुभयो ।

‘अहिले त कुनै न कुनै रूपमा अनुसन्धान सम्भव छ । स्वर्णिम वाग्लेको डिपफेक भिडियोकै सवालमा पनि दुई जना पहिचान भइसक्यो । भिपिएनको प्रयोग गरेर यस्तो भयो भने त झन् जटिल हुने देखियो,’ उहाँले भन्नुभयो

व्यक्तिले आफ्नो भावना अभिव्यक्त गर्न कुनै न कुनै माध्यम प्रयोग गर्ने र सो स्थान सामाजिक सञ्जालले पूरा गरेको भन्दै भोलि सरकारको कामको असन्तुष्टिविरुद्ध सञ्जालका प्रयोगकर्ता सडकमा प्रदर्शनमा आए सरकारलाई गाह्रो पर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...