वाक स्वतन्त्रता गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यक : रामकुमारी झाँक्री

19

काठमाडौँ, २० भदौ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै झाँक्रीले वाक स्वतन्त्रताको नाममा गालीगलौज र चरित्र हत्या गर्न छुट नहुने स्पष्ट पार्नुभएको हो । उहाँले सामाजिक सञ्जाललाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतामा बन्देज लगाउनु नभएको बताउँदै, अधिकारसँगै कर्तव्य पनि महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘सोसल मिडिया र भर्चुअल प्लाटफर्मलाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतालाई बन्देज गर्नु होइन । हामी नागरिकले आफ्नो अधिकार र दायित्वलाई सँगसँगै लिनु गर्नुपर्छ ।’

झाँक्रीले पशुपतिनाथको दर्शनलाई उदाहरण दिँदै नियमनको पक्षमा तर्क प्रस्तुत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘मानौँ, पशुपतिनाथको दर्शन गर्न पाउनु नागरिकको अधिकार हो । तर, हजारौँ मान्छेलाई दर्शन गर्न सहजताका लागि कानुनबमोजिम पशुपति विकास कोष र त्यहाँ क्रियाशील संस्थाहरूले बनाएको नियम मान्नु सबै दर्शनार्थीको कर्तव्य हुन्छ । बनाइएको लाइनमा बसेर तोकिएको गेटबाट मात्र दर्शन गर्नुपर्छ । त्यस्तै हो यो पनि ।’

उहाँले वाक स्वतन्त्रता भए पनि त्यसको नाममा गालीगलौज गर्न नपाइने भन्दै सामाजिक सञ्जाल नियमनको आवश्यकता औँल्याउनुभएको छ ।

नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत बढ्दो घृणा, गलत सूचनाको प्रसार र व्यक्तिगत आक्षेपलगायत विषयले सार्वजनिक चासो बढाएको छ । यस्तो परिवेशमा झाँक्रीको टिप्पणीलाई धेरैले समर्थन तथा आलोचना दुवै दृष्टिकोणबाट हेरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...