रसुवागढीमा सुख्खा पहिरोः एक जना घाइते, भवनमा क्षति

7
रसुवा, १५ साउन । रसुवागढी क्षेत्रमा आज गएको सुख्खा पहिरोका कारण एक युवा घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ ।
 जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार स्थानीय ‘वर्कसप’मा काम गर्ने पर्सा जिल्ला पटेरूवा सुगौली गाउँपालिका—२ का करिब १९ वर्षीय विमलदास थारू सुख्खा पहिरोमा परी घाइते हुनुभएकोे हो । टाउको र छातिमा गम्भीर चोट लागेका उहाँको जिल्लास्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
रसुवागढी पूर्वतर्फको पहाडबाट झरेको सुख्खा पहिराले गत असार २४ पछि सडक अवरूद्व भएको छ । यसैगरी गढी इलाकामा रोकिएका स्काभेटर, ट्रयक्टर, कन्टेनर, स्कारपियो जिप, सुरक्षाकर्मी बस्ने प्रिफेब भवन, सीमा क्षेत्रस्थित ‘हेल्थ डेस्क’ र चिया पसलमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो ।
सीमा सुरक्षाका लागि रसुवागढी नाकामा तैथान सुरक्षाकर्मी पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।
हिमताल फुटेर ल्हेन्देखोलामा आएको बाढीबाट त्रसित यहाँका स्थानीय, व्यावसायी, राष्ट्रसेवक कर्मचारी एवम् सुरक्षाकर्मी, मजदुर र पैदलयात्रुले समेत सुख्खा पहिरोका कारण पुनः असुरक्षित हुनुपरेको गुनासो गरेका छन् । यसैगरी सुख्खा बन्दरगाह क्षेत्रसहित रसुवागढी आसपासमा रहेका चारपाङ्ग्रे सवारीसाधनमा पहिरोले क्षति पुर्‍याउन सक्ने भन्दै समयमै उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
Share This:
सम्बन्धित खबर
Loading...