चालु खाता चार खर्ब नौ अर्ब र शोधनान्तर पाँच खर्ब ९४ अर्ब बचतमा

18

काठमाडौँ, ८ भदौ । गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकमा सुधार हुँदै गएको देखिएको हो ।

प्रतिवेदनअनुसार गत आवमा सरकारको चालु खाता चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ । आव २०८०/८१ मा चालु खाता दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो ।

गत आवमा शोधनान्तर स्थिति पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । आव २०८०/८१ मा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब अर्ब ४९ करोडले बचतमा थियो । गत आवमा खुद पुँजीगत ट्रान्सफर नौ अर्ब ८४ करोड छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब दुई करोड बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

गत आवमा आर्थिक वृद्धि चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । जसमध्ये कृषि क्षेत्रको वृद्धि तीन दशमलव २८, उद्योग क्षेत्रको चार दशमलव ५३ र सेवा क्षेत्रको वृद्धि चार दशमलव २१ प्रतिशत रहेको अनुमान छ । गत आवको कुल ग्राहस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ दशमलव १६, १२ दशमलव ८३ र ६२ दशमलव शून्य एक प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

त्यस्तै, गत आवमा कुल ग्राहस्थ्य बचत कुल ग्राहस्थ्य उत्पादनको छ दशमलव ५५ प्रतिशत रहेको छ । कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल ग्राहस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २४ दशमलव शून्य सात र ३६ दशमलव २४ प्रतिशत रहेको छ ।

गत आवमा कुल विद्युत्‌को जडित क्षमता वृद्घि भई तीन हजार ५९१ मेगावाट पुगेको छ । जडित क्षमतामध्ये जलविद्युत् तीन हजार ३९० मेगावाट रहेको छ । त्यस्तै, कुल पर्यटक आगमन एक दशमलव सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ ।

राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई दशमलव ६६ प्रतिशतले अवमूल्यन भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...