खाँदबारी, ४ भदौ । जिल्ला कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना कैदीको मृत्यु घटना प्रकरणको मुद्दा फैसलामा ढिलाइ भएको छ ।
गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाशतोलाङ्गी र नुवाकोट जिल्ला, ककनीगाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो । सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका दुई कैदीका परिवारले अझै न्याय पाउन सकेका छैनन् । उक्त मुद्दा दुई वर्षदेखि अदालतमा विचाराधीन छ ।
दुई जना कैदीको मृत्यु घटना प्रकरणको मुद्दा पटक पटक पेशी सर्दै आएको छ । दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटना प्रकरणमा थप सुरक्षाकर्मी र कैदीसहित १५ जनासँग बयान भइसकेको छ ।
उक्त घटनामा एक जना चिकित्सकसहित हालसम्म ५७ जनासँग बकपत्र भएको जिल्ला अदालतका स्रेस्तेदार उज्ज्वल न्यौपानेले जानकारी दिनुभयो । यसबीचमा दुई जना न्यायाधीशको सरुवा भइसकेको छ । कारागारबाट भाग्न खोजेको आरोपमा दुई कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देखिएको थियो ।
कैदी हत्या घटनामा कारागारका तत्कालीन इञ्चार्ज सहायक निरीक्षक लक्ष्मी चौधरीसहित सात प्रहरी र चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राईसहितका कैदीको संलग्नता देखिएको थियो ।
कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात जना प्रहरी र आठ जनालाई घटनामा संलग्न भएको आरोपमा २०८० भदौ २७ गते पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । जिल्ला अदालतले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाउन आदेश दिएको थियो ।