पोखरा विमानस्थल निर्माणमा कुनै भ्रष्टाचार भएको छैन : महानिर्देशक अधिकारी

15

पोखरा, ४ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १५ अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै संसदीय उपसमितिले सार्वजनिक गरेको प्रतिवेदनप्रति तीव्र आपत्ति जनाउनुभएको छ ।

मंगलबार पोखरा विमानस्थलमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले यस्तो प्रतिवेदन राजनीतिक पूर्वाग्रह र तथ्यहिन आरोपमा आधारित रहेको बताउनुभयो ।

‘विमानस्थल सारा पोखरावासीको सपना थियो,’ उहाँले भन्नुभयो, ‘यो जनताको त्याग र संघर्षको उपज हो । कुनै भ्रष्टाचार भएको छैन, झुटो प्रचार गरिँदै छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सन् २०१२ मा चीन सरकारको २०० मिलियन डलर ऋणमध्ये १२० मिलियन डलर खर्च गरिएको थियो भने बाँकी ८० मिलियन डलर अर्थ मन्त्रालयमा जगेडा थियो । त्यही रकमलाई आधार बनाएर टेन्डर प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ थियो ।

महानिर्देशक अधिकारीले विमानस्थल निर्माणका क्रममा लागत वृद्धि हुनुको स्पष्ट कारणहरू प्रस्तुत गर्नुभयो । उहाँका अनुसार सुरुवाती सम्झौतामा नसमेटिएका बोडिङ्ग ब्रिजहरू, ३४ सेन्टिमिटर बाक्लो सिमेन्ट संरचना लगायतका थप कार्यहरूले कुल लागत २२ अर्ब रुपैयाँ पुगेको बताउनुभयो ।

‘पहिले दुई वटा बोडिङ्ग ब्रिज थिएनन्, पछि थपियो । त्यही कारण लागत बढेको हो । सम्झौतामा मुद्रास्फीतिलाई व्यवस्थित गर्ने कुरा उल्लेख थियो, तर यसलाई आयोगले बेवास्ता गर्‍यो,’ उहाँले भन्नुभयो, ‘२०१४ मा सम्झौता गर्दा जुन २२ अर्बको लागत तय भएको थियो, त्यसमा म वा मेरो कार्यकालका कुनै अधिकारीको संलग्नता छैन ।’

उहाँले निर्माण सम्झौता नेपाल नागरिक उड्डयन प्राधिकरण र चीन सरकारबीच लोनमार्फत् गरिएको बताउनुभयो ।

महानिर्देशक अधिकारीले संसदीय उपसमितिको प्रतिवेदनले तथ्यलाई तोडमोड गरेर जनताको आँखामा झुटा कुरा राख्ने प्रयास गरेको आरोप लगाउनुभयो । उहाँले सबै डकुमेन्टहरू क्यानमा सुरक्षित रहेको र आवश्यक परे सार्वजनिक गरिने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...