सञ्चार माध्यमले समाजलाई जोड्ने होइन तोड्न थालेको छ : सोविता गौतम

23

काठमाडौँ, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले पछिल्लो समय सञ्चार माध्यमको बढ्दो प्रयोग र विस्तारको कारण समाजलाई बिखन्डित गर्ने काम गरेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आयोजना गरेको मौलिक गीतहरुको सामूहिक विमोचन कार्यक्रममा बोल्दै उहाँले पहिला दोहोरी खेल्न समाज जसरी जुट्थ्यो आज त्यो कम हुँदै गइरहेको उदाहरण दिँदै उहाँले सञ्चारमाध्यमको अधिकतम प्रयोगले समाजलाई जोड्न छोड्यो कि भन्ने चिन्ता लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय विस्तारित भएका सञ्चार माध्यमको बढ्दो प्रयोग र सञ्चार क्षेत्रको विस्तारको कारण समाजलाई बिखन्डित गरेको हो कि जस्तो लाग्छ । सञ्चार माध्यमको अधिकतम प्रयोग हुँदा र नहुँदाको अवस्थालाई तुलना गर्ने हो भने पनि समाजलाई जोड्न छोड्यो कि भन्ने चिन्ता पनि लाग्छ । पहिला दोहोरी खेल्न समाज जसरी जुट्थ्यो आज त्यो कम हुँदै गइरहेको छ ।’

त्यस्तै, उहाँले गीत संगीतमा विकृति विसङ्गतिहरु बढ्नु चिन्ताजनक विषय रहेको बताउनुभयो । भ्यूजको सन्दर्भमा सिर्जना दिने हेर्ने दुवैको दोष बराबर हुने भन्दै उहाँले एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि हरेक नागरिक उत्तरदायी बन्न जरुरी रहेको धारणा राख्नुभयो ।

सांसद गौतमले सम्बोधन गर्दै गर्दा बत्ती गएको थियो । सोही सन्दर्भमा पत्रकारहरुले उहाँलाई वर्तमान समयमा भइरहेको लोडसेडिङको विषयमा प्रश्न गरेका थिए ।

उहाँले पछिल्लो केही दिनहरुमा विद्युतमा समस्या देखिँदा देश लोडसेडिङ मुक्त भयो भन्ने कुरा पत्याउन नसक्ने परिस्थिति निर्माण भएको प्रतिक्रिया दिनुभयो ।

धेरै बिजुली गइराख्दा चौतर्फी रुपमा गुनासोहरुको भारी बढ्दो चाङको रुपमा देखिएको भन्दै उहाँले चाँडै समाधान गर्न राज्यलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘एउटा सत्य के हो भने पछिल्लो समय एकदमै धेरै बिजुली गइराखेको छ । विद्युतमा केही समस्या भएको हो कि यस विषयमा गुनासोहरुको भारी बढ्दो चाङको रुपमा देखिरहँदा राज्यले यसलाई चाँडै समाधान गरोस् । केही वर्ष भएको थियो लोडसेडिङ मुक्त भयो भने फेरि अहिले पत्याउनुपर्ने परिस्थिति निर्माण भइराखेको छैन । राज्यले यसमा संवेदनशील भएर हेरोस् भन्ने आग्रह छ ।’

Share This:
सम्बन्धित खबर
Loading...