युवाको सक्रिय सहभागिता बिना लोकतन्त्र अधुरो हुन्छ : डा.संग्रौला

23

काठमाडौँ, १५ साउन । नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा.डिला संग्रौला पन्तले युवाको सक्रिय सहभागिता बिना लोकतन्त्र अधुरो हुने बताउनुभएको छ ।

काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित नमुना संघीय सभालाई सम्बोधन गर्दै संग्रौलाले लोकतन्त्रलाई गाली नभइ जिम्मेवारी चाहिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘तपाईंहरू परिवर्तनका वाहक हुनुहुन्छ । निराश होइन, आशावादी बनौँ । गुनासो मात्रै होइन, समाधान पनि खोज्ने बानी गरौँ । समाजप्रति उत्तरदायी, सचेत र संलग्न नागरिक बन्नुहोस् । लोकतन्त्रलाई गाली होइन, जिम्मेवारी चाहिन्छ । तपाईंको सोच, आवाज र निर्णयले देश बदल्न सक्छ ।’

नेपाली काँग्रेस सधैँ युवाको साथमा रहेको बताउँदै मोडल संसद्का अभ्यासहरूबाट ऊर्जा, प्रतिबद्धता र सिर्जनात्मक विचारहरू आउने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘गएको दश वर्षको हाम्रो अभ्यासको आधारमा संविधान संशोधनको अवश्यकता देखिएको छ । त्यसको नेतृत्व पनि नेपाली काँग्रेसले लिनुपर्छ र लिन पनि लागेको छ । अब लोकतन्त्रको रक्षा, संघीयताको सकारात्मक अभ्यास र न्यायपूर्ण समाज निर्माणमा हामी सबै मिलेर अघि बढ्नुपर्छ ।’

आजका विद्यार्थी भोलिका सांसद, मन्त्री, वैज्ञानिक, चिकित्सक र उद्यमी हुने बताउँदै गुणस्तरीय, सुलभ र व्यावसायिक शिक्षा सबैको प्राथमिकता हुनुपर्ने कुरामा जोड पनि दिनुभयो ।

‘काँग्रेसले सार्वजनिक शिक्षालाई बलियो बनाउने, निजी शिक्षाको नियमन गर्ने र प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने नीति लिएको छ । युवामा स्वरोजगार र स्टार्टअप प्रवर्द्धन गर्न राज्यले विशेष सहयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

संसद् नीति निर्माण गर्ने, कार्यपालिकामाथि निगरानी गर्ने र जनताको आवाजलाई प्रतिनिधित्व गर्ने मञ्च भएकाले संसद्को मर्यादा कायम राख्न दलहरूनै जिम्मेवार हुनुपर्नेमा जोड पनि दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...