विश्व बाघ दिवसको छायामा गाउँलेका आँशु : सहअस्तित्वको कथामा पीडादायी घाउ

3

कञ्चनपुर, १३ साउन । आज जुलाई २९, विश्व बाघ दिवस । ‘सहअस्तित्व र आयआर्जन, बाघ संरक्षणका लागि मानव व्यवहार परिवर्तन’ भन्ने नारा गुञ्जिरहेको छ । तर, यति भनिरहँदा, कञ्चनपुरको एक गाउँकी मिना शाहको आँखा फेरि रसाउँछन् ।

एक वर्ष भयो त्यो दिनलाई, जब उहाँले आफ्नी देवरानीलाई बाघको आक्रमणबाट गुमाइन् । आज पनि त्यो साँझ उनको आँखामा चलचित्रजस्तै घुमिरहन्छ— धेरै चुप लागेका कुराहरू सुस्केरा बनेर बाहिर निस्कन्छन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै ‘पहिला कहिल्यै यस्तो सुनेकै थिइनौँ यहाँ बाघ आइहाल्छ भनेर । अघिल्लो साँझ बाघ देखिएको खबर थियो, तर त्यसपछि केही पत्तो थिएन । हामी त खेतमै थियौँ । कसैले सावधानी पनि दिएन, कसैको चेतावनी पनि आएन ।’

उहाँ त्यो दिन आफ्नी देवरानीभन्दा अलिक परको खेतमा थिइन् । सधैँजस्तै हल्का थकाइ र खेतको माटोमा गोडमेल गर्दैगर्दा, उहाँले अनौठो हलचल देख्नुभयो । बाघको छायाँ देखेकी थिइन्, तर तबसम्म…देवरानीलाई कता लग्यो, के गर्‍यो, केही पत्तो लागेन,’ उहाँले भारी स्वरमा भन्नुभयो, ‘केवल देवरानीको बचेको थियो रगतका छिटा ।’

त्यो दिन आवाज मच्चाउने कोही थिएन । डरले हरेक अनुहार चुप थिए । मिना आफैँ डरले कठ्यांग्रिएकी थिइन् ।

‘हल्ला गर्न, सहयोग माग्न, बचाउने केही गर्न हामीले सक्दै सकेनौँ,’ उहाँ भन्नुहुन्छ, ‘सबै जनालाई आफ्नै ज्यानको चिन्ता थियो । लाश भेटियो… त्यो त भाग्य थियो ।’

उही गाउँका वृद्ध तिलपति पन्त आज पनि झस्किन्छन् जब कसैले बाघको कुरा गर्दा । ‘२०८१ सालमा लागेको थियो बाघ,’ उहाँ सम्झिनुहुन्छ, ‘एकैछिनको त्रास थियो त्यो— अहिलेसम्म पनि मनमा गहिरो घाउ छ ।’ पन्तले बताएजस्तो पहिलेजस्तो जंगल अहिले छैन । खोल्सो, झाडी, हरियाली सब मासिँदै गयो । त्यसैले बाघ गाउँ पस्न थालेको हो ।

‘बाघ पनि त बाँच्न चाहन्छ नि, भोक मेट्न चाहन्छ,’ उहाँ भन्नुहुन्छ, ‘हामीजस्तै ऊ पनि पेटभरि खान खोज्छ । तर, कहाँबाट खानु ? जंगल मासियो, शिकार घट्यो, उसको विकल्प नै छैन ।’

नेपाल न्यूज बैंकसँग कुरा गर्दै पन्त अहिले पनि गाउँमा बाघको त्रास रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘तर, पनि अहिलेसम्म बाघको अहंकार त कम छ । त्यो घटना पछि त्रास अझै पनि छ ।’ बच्चाहरूलाई साँझ परेपछि एक्लै हिँड्न दिइँदैन । ‘सावधानी त छ तर मनको डर कहाँ हट्छ र ?’ उहाँ भन्नुहुन्छ ।

बाघको संरक्षणका लागि संसारभरिका सरकारहरू, संस्था, संरक्षणविद्हरूले ठुलो लगानी गरेका छन् । तर, जब संरक्षणले मानवीय जीवनमा आँशु, डर र मृत्यु ल्याउँछ, त्यो मूल्य कसले चुकाउने ? कञ्चनपुरको त्यो गाउँ यो प्रश्नको साक्षी बनेको छ ।

बाघका लागि वन नबच्दा, बाघ आफैँ गाउँ आएको हो । तर, त्यो बाघ आयो, अनि त्यो साँझ एउटा मान्छे गयो । ‘सहअस्तित्व’ शब्द सुन्नमा मिठो लाग्छ– मानौँ मान्छे र बाघ एउटै धर्तीमा सँगै बाँच्न सक्ने छन् ।

तर, त्यो सँगै बाँच्ने प्रयासमा एकतर्फ बाघको जीवन बचाउने संरक्षण हुन्छ, अर्कोतर्फ खेतमा काम गर्ने गरिब किसानको ज्यान गुम्ने जोखिम हुन्छ । हाम्रो नीतिमा बाघको लोप हुन नदिन योजना छ । तर, देवरानी गुमाएकी मिना शाहका लागि त्यो योजना पीडाको पर्याय बनिरहेको छ । ती किसानहरूको आँखामा सहअस्तित्व तब हुने छ, जब उनीहरूको सुरक्षालाई पनि संरक्षणको हिस्सा मानिन्छ । शायद त्यो दिन एक दिन आउला– जब कुनै मीना आफ्नो देवरानी गुमाउँदिनन् ।

जब जंगल हराउँदैन र बाघ बाँच्नका लागि गाउँ आउँदैन । जब संरक्षणको अर्थ एउटाको जीवन जोगाउन अर्कोको बलि दिनु हुँदैन । जब सहअस्तित्व नारा मात्र होइन, व्यवहार बनोस् । त्यो दिन अझै टाढा होला, तर आज बाघ दिवस १ त्यो यात्राको सम्झना बाघको लागि मात्र होइन, मिना शाहजस्ता सयौँ गाउँलेका लागि पनि हो ।

तर दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदम सिहं रावलले वडामा विभिन्न किसिमका कार्यक्रमहरु गरेर बाघलाई गाउँ प्रवेश गर्न नसक्ने वातावरण बनाइरहेको दाबी गर्नुहुन्छ ।

कञ्चनपुरमा बाघको आक्रमणबाट अहिलेसम्म दुई जनाको ज्यान गइसकेको छ । गतवर्ष दोधारा र त्यसअघि बेलौरीमा बाघले आक्रमण गरेको हो । दुवै ठाउँमा भारतीय जङ्गलबाट आएका बाघले आक्रमण गरेर ज्यान गएको हो । शुक्लाफाटाका बाघको घनत्व बढी भए पनि अहिलेसम्म बस्ती छिरेर आक्रमण गरेको पाइँदैन ।

Share This:
सम्बन्धित खबर
Loading...