भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ : सभामुख घिमिरे

10

झापा, ३२ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्‌मा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अर्जुनधारा नगरपालिकामा आज अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसद्‌बाट भूमिसम्बन्धी नयाँ कानुन निर्माणपछि वर्षौँदेखि थाती रहेका भूमि समस्याको समाधान हुने बताउनुभयो ।

उहाँले सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महङ्गो भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गर्नुभयो । वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको सङ्ख्यामा बृद्धि भइरहेको बताउनुभयो ।

“धेरै सुकुम्बासीहरूले वर्षौँदेखि बसेको जग्गाको धनीपूर्जा पाएका छैनन्,” उहाँले भन्नुभयो, “कानुन निर्माणपछि त्यस्ता समस्याको समाधान हुन्छ ।” उहाँले वर्तमान भूमि आयोगले राम्रो काम गरिरहेको चर्चा गर्नुभयो ।

अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोवासीलाई आज जग्गाको धनीपूर्जा वितरण गरिएको छ । सभामुख घिमिरेले अव्यवस्थित बसोबासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपूर्जा वितरण गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...