बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

14

बैतडी, २८ असार । बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

जिपमा सवार अन्य छ जना घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शनिबार बिहान ५ः३० बजे बैतडीको पाटन–६ स्थित खिपालीमा जिप दुर्घटना भएको हो । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए । जिप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...