गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह

8

काठमाडौँ, २५ असार । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको सामूहिक प्रयत्न आवश्यक पर्ने बताउनुभएको छ ।

नेपाल पब्लिक क्याम्पस सङ्घको ३५औँ वार्षिकोत्सव, सम्मान कार्यक्रम तथा काठमाडौँ जिल्ला अधिवेशन कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सामूहिक प्रयत्न बिना गुणस्तरीय शिक्षाको नारा नारामै सीमित हुने बताउनुभयो ।

“क्याम्पस खुलेर मात्र हुँदैन । गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न आवश्यक छ । क्याम्पस परिवार, विद्यार्थी, अभिभावकसहित सबैको भूमिकाबाट मात्रै गुणस्तरीय शिक्षाको नारा पूरा हुनसक्छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “शिक्षा क्षेत्रमा विगतभन्दा धेरै कुरा भएका छन् । यसलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनुपर्छ । त्यसका लागि साझा प्रयत्न आवश्यक छ ।”

उहाँले पब्लिक क्याम्पसले उच्च शिक्षाको क्षेत्रमा गरिररहेको काम प्रशंसनीय रहेको बताउनुभयो । समुदायको आवश्यकता र जनचाहनाअनुसार पब्लिक क्याम्पसले शिक्षा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जादूको छडी कसैसँग नहुने भन्दै शिक्षा क्षेत्रमा जस्तै समाजका धेरै क्षेत्र सुधारका लागि सरकारले प्रयास गरिररहेको र त्यसमा आम नागरिकको साथ आवश्यक रहेको बताउनुभयो ।

प्रतिपिनधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले गुणस्तरी शिक्षा उपलब्ध गराएर विद्यार्थीलाई नैतिक र जिम्मेवार नागरिक बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महर, एमाले शिक्षा विभाग प्रमुख पार्वती रावललगायतले सहरदेखि ग्रामीण भेगसम्म रहेर विद्यार्थीलाई शिक्षा दिइरहेको भन्दै पब्लिक क्याम्पसको नेपालको उच्च शिक्षाको क्षेत्रमा ठुलो योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा पब्लिक क्याम्पसबाट उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रा र क्याम्पसलाई सम्मान गरिएको थियो । देशभर करिब ६०० पब्लिक क्याम्पस रहेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले उच्च शिक्षा नीतिमा सामुदायिक शिक्षकको स्तर निर्धारणदेखि लगानीको व्यवस्थाको विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...