काठमाडौँ, २५ असार । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको थियो ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले अधिकांश किसान रोपाइँका लागि आकाशे पानीमा निर्भर रहने उल्लेख गर्दै यस वर्ष नेपालमा मनसुन अगाडि नै भित्रिँदा गत वर्षको तुलनामा धान रोपाइँ बढी भएको बताउनुभयो ।
“पूर्वी तराईबाट मनसुन सुरु भए पनि वर्षा कम भएका कारण मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ पनि कम भएको छ, यद्यपि गत वर्षको तुलनामा बढी छ,” उहाँले भन्नुभयो, “सामान्यतया सुदूरपश्चिम प्रदेशमा छिटो रोपाइँ सुरु हुने र मधेसमा ढिला सुरु हुने गरेको छ ।”
विभागका अनुसार मुलुकभर कूल १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमध्ये हालसम्म छ लाख २३ हजार एक सय चार दशमलव ४७ हेक्टरमा रोपाइँ भइसकेको छ ।
कोशी प्रदेशमा हालसम्म दुई लाख ७६ हजार ३८६ दशमलव ७३ हेक्टरमध्ये ८१ हजार ६३४ दशमलव ९ हेक्टरमा रोपाइँ भएको छ । जुन २९ दशमलव ५४ प्रतिशत हो । प्रदेशमा गत वर्ष यही अवधिमा ३४ दशमलव चार प्रतिशत रोपाइँ भएको थियो ।
मधेस प्रदेशमा तीन लाख ७२ हजार छ सय ४५ हेक्टरमध्ये ९३ हजार ४६८ दशमलव दुई हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । जुन २५ दशमलव ०८ प्रतिशत हो । प्रदेशमा गत वर्षको यही समयमा २५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको थियो ।
विभागका अनुसार बागमती प्रदेशमा एक लाख २० हजार पाँच सय ४५ हेक्टरमध्ये हालसम्म ५१ दशमलव नौ प्रतिशत अर्थात ६२ हजार ५६१ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशमा गत वर्षको सोही अवधिमा ४१ प्रतिशत रोपाइँ भएको थियो ।
गण्डकी प्रदेशमा ९४ हजार एक सय ८२ हेक्टरमध्ये ५५ दशमलव ६ प्रतिशत अर्थात् ५२ हजार ३५३ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा प्रदेशमा ४९ दशमलव सात प्रतिशत रोपाइँ भएको थियो ।
विभागका अनुसार लुम्बिनी प्रदेशमा तीन लाख दुई हजार ९३९ हेक्टरमध्ये एक लाख ५७ हजार ८५७ हेक्टरमा रोपाइँ भएको छ । जुन ५२ दशमलव एक प्रतिशत हो । प्रदेशमा गत वर्षको यही अवधिमा ४४ दशमलव चार प्रतिशत रोपाइँ भएको थियो ।
कर्णाली प्रदेशमा ४० हजार ८८४ हेक्टरमध्ये हालसम्म ७१ दशमलव सात प्रतिशत अर्थात् २९ हजार २९९ क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ७८ प्रतिशत रोपाइँ भएको थियो ।
विभागले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशमा एक लाख ७६ हजार १५१ हेक्टरमध्ये हालसम्म एक लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ सकिएको छ । जुन ८२ दशमलव आठ प्रतिशत हो । प्रदेशमा गत वर्षको सोही अवधिमा ८६ प्रतिशत रोपाइँ सकिएको थियो ।
कृषि मन्त्रालयका अनुसार मुलुकभर झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जनकपुर, सिमरा, विराटनगरलगायतका स्थानमा औसतभन्दा कम र धनगढी सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाडौँमा औसतभन्दा बढी वर्षा भएको छ ।
यस्तो छ वर्षाको अवस्था
जल तथा मौसम विज्ञान विभाग, हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा)का अनुसार मनसुन अवधिमा १४ सय मिलिमिटर सरदर वर्षा हुने गरेकोमा हालसम्म ३५२ दशमलव मिलिमिटर अर्थात् २३ दशमलव आठ प्रतिशत वर्षा भएको छ ।
महाशाखाले जुन महिनामा भएको वर्षा सरदरको ९९ प्रतिशत रहेको जनाएको छ । सामान्यतया सरदरको ९० देखि ११० प्रतिशतसम्मको वर्षालाई नेपालको सरदर वर्षा मान्ने गरिन्छ । “जुन महिनासम्मको तथ्याङ्क विश्लेषण गर्दा समग्रमा सरदर नै वर्षा भएको छ । तर कुनै स्थानमा बढी र कुनै स्थानमा कम वर्ष पनि भएको छ”, विभागकी प्रवक्ता विभूति पोखरेलले भन्नुभयो ।
यसवर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो । सामान्यतया जुनदेखि सेप्टेम्बर सम्मको चार महिनाको अवधिलाई मनसुन ऋतु भनिन्छ । मनसुन ऋतु सुरु हुनु अगावै गत जेठ ७ गते नेपालको यसवर्षको मनसुन ऋतुको ऋतुगत हावापानी आँकलन सार्वजनिक गरिएको थियो । हाल जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाका लागि हावापानी आँकलन अध्यावधिक गरिएको थियो ।
जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन अवधिमा मधेस प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम, कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदर र देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।
महाशाखाका अनुसार कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ भने सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
सुदूरपश्चिम प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको दक्षिण–पूर्वी भू–भाग, बागमती प्रदेशको दक्षिणी भू–भाग र कोशी प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । साथै मधेस प्रदेशका मध्य तथा पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
धान उत्पादन
कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धान उत्पादन भएको छ । जुन २०८० सालको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी हो ।
गत कोशी प्रदेशमा १४ लाख ६६ हजार पाँच सय १८ मेट्रिकटन मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिकटन, बागमती प्रदेशमा चार लाख ९८ हजार ६३२ मेट्रिकटन, गण्डकी प्रदेशमा तीन लाख ७९ हजार ३२ मेट्रिकटन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिकटन, कर्णाली प्रदेशमा एक लाख ३० हजार १९१ मेट्रिकटन र सुदूरपश्चिम प्रदेशमा छ लाख ३६ हजार २१२ मेट्रिकटन धान उत्पादन भएको थियो ।