मुलुकलाई योगदान दिने क्षेत्र राजनीति पनि हुनसक्छ, छलफलमै छु : कुलमान घिसिङ [भिडिओ]

10

काठमाडौँ, २१ असार । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने बताउनुभएको छ ।

मध्यपूर्वी मुलुकहरुको भ्रमणमा जानुअघि नेपाल न्युज बैंकसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरु भए पनि जनतामा आत्मविश्वास जगाउन नसकिएकाले जनतामा निरासा बढ्दै गएको उहाँले बताउनुभयो ।

प्राधिकरणबाट बाहिर आएपछि आफुपनि सर्वसाधारण नागरिक सरह भएको बताउँदै उहाँले आगामी दिनमा कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिने भन्ने बारेमा छलफलमा रहेकाले त्यो क्षेत्र राजनीति पनि हुनसक्ने उहाँले बताउनुभयो ।

‘जनताका समस्या सम्बोधन गर्न राम्रो लिडरसिप जरुरी छ । देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुनसक्छ । तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौँ,’ घिसिङले भन्नुभयो,‘विकास र समृद्धिलाई हामीले फोकस दिएर अघि बढ्नुपर्छ । मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि धेरै समय लाग्दैन । हामीसँग प्राकृतिक स्रोत छ, जनशक्ति छ, सबै चिज छ । त्यकारण देशमा ठुलो परिवर्तन ५ देखि १० वर्ष भित्र हुन सक्छ । विकास हुन्छ भन्ने विश्वास मात्रै पनि जनतालाई दिलाउन सक्यो भनेपनि त्यो ठुलो परिवर्तन हुन्छ । त्यो भनेको नेतृत्वप्रतिको विश्वास हो । देशको नेतृत्वले राम्रो गर्छ, प्रष्ट रुपले काम अघि बढाएर जनतामा विश्वास दिलाउन मात्रै सकेपनि धेरै कुरा परिर्वतन हुन्छ ।’

यसको अर्थ आफूले मुलुकमा सबै लिडरसिप नराम्रा छन् कसैले काम गरेकै छैन भन्न खोजेको नभइ राजनीति र सामाजिक परिवर्तन धेरै भएपनि नेपालमा आर्थिक रुपान्तरण हुन सकेन भन्न खोजेको उहाँले बताउनुभयो । त्यसका लागि विकास गर्न सक्ने नेतृत्व आवश्यक भएको र सोही डेडिकेसनसहित विकास निर्माणमा जानुपर्ने र द्रुत गतिमा विकास कसरी गर्ने भन्नेतिर सबैजना लाग्नुपर्ने घिसिङको धारणा छ ।

राजनीतिक परिवर्तनभन्दा पनि देशको अर्थतन्त्र रुपान्तरण कसरी गर्न सकिन्छ भन्नेतर्फ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्ता कुरामा ध्यान दिएर सुशासन कुराहरुमा प्रभावकारी काम गर्न सकेमा परिवर्तन हुन धेरै समय नलाग्ने घिसिङको भनाइ छ ।

‘मैले ३० वर्षसम्म जुन डेलिभरी दिएर एउटा ठाउँमा पुगे सोही क्रममा लोडसेडिङ अन्त्य मात्र होइन घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणलाई नाफामा ल्याउनेदेखि देशभर विद्युतीकरण गर्ने काम गरियो । त्यति मात्र नभएर भारतदेखि बंगलादेशसम्म विद्युत निर्यात भयो । गर्दाखेरी हुँदो रहेछ भन्ने एउटा उदाहरण पनि हो । यो एउटा क्षेत्रको सफलता हो । अब उज्यालो नेपाल वा उज्यालो अभियान भनेको बत्तिको मात्रै उज्यालोले भएन,’उहाँले भन्नुभयो, ‘अँध्यारो हटाउनुपर्ने ठाउँ धेरै छन्, धेरै क्षेत्रमा अँध्याराहरु छन् । सबै क्षेत्रको अँध्यारोलाई उज्यालोमा कन्भर्ट गर्नुपर्‍यो । सबै जनताको मुहारलाई उज्यालो गराउनु पर्छ ।’

कमजोर सुशासन, गरिबी, समाजिक विभेद अन्त्य लगायत सबै कुराहरु सामाजिक र आर्थिक रुपान्तरणसँग जोडिएको बताउँदै उहाँले एउटा क्षेत्रमा मात्रै राम्रो भएर नहुने सही मान्छे सही ठाउँमा बसेर ‘टप टु बटम’ सबै निकायमा सही मान्छे हुनु जरुरी रहेको तर्क गर्नुभयो । त्यसकारण मेरिटोक्रेसीको विषयलाई एकदमै गम्भीर रुपमा हेर्नुपर्ने उहाँको भनाइ छ ।

‘हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्छ । किन हामीले जनतामा आत्मविश्वास जगाउन सकेनौँ । त्यसकारण निरासा बढ्दो छ । यी सबै कुराहरुलाई सम्बोधन गर्न राम्रो मान्छेको लिडरसिप जरुरी छ । देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुन सक्छ । तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौँ ।’

यद्यपि, अहिलेसम्म कसैसँग राजनीतिमा जाने विषयमा आफूले छलफल नचलाएको घिसिङको दाबी छ । ‘म पनि अब त सर्वसाधारण जनता भएको नाताले सबै किसिमका व्यक्ति, विज्ञ, नेतासँग छलफल गरि रहेको छु । हिजोको दिनमा जनताले जसरी माया, प्रेम र विश्वास दिनुभयो त्यहीँ नै मेरो ऊर्जा हो,’ उहाँले भन्नुभयो, ‘मैले कमाएको सामाजिक पुँजी जुन छ त्यसमा आँच आउन दिने छैन । त्यहीँ विश्वासलाई लिएर कसरी अघि बढ्ने भन्ने नै मेरो मुख्य प्राथमिकता हो ।’

Share This:
सम्बन्धित खबर
Loading...