- प्रमिला कार्की
काठमाडौँ, १६ असार । काठमाडौँको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन् । उनले आफ्नो पहिचान बारिस्टासम्म मात्र सीमित राखिनन् । उनी आरोही पनि हुन्, उद्यमी र मिस शेर्पा २०१८ पनि । उनको नाम हो-दाफुटी शेर्पा ।
दोलखाको सिमि गाउँमा जन्मिनुभए दाफुटीको बाल्यकाल सरल थिएन । तर, सपना भने विशाल थिए । उहाँले सानैदेखि कर्ममा विश्वास गर्नुभयो, ‘जुनसुकै कठिन परिस्थिति किन नहोस्, आफ्नो सपना देख्न नछोड्नु,’ भन्ने अठोटले उहाँको जीवनलाई मोड दियो ।
एसएलसीपछि उच्च शिक्षाको सपना बोकेर उहाँ काठमाडौँ आउनुभयो । नयाँ सहर, अपरिचित परिवेश, जिम्मेवारीको भारी—सबैसँग जुध्नुपर्यो । आमाबुबाको आशीर्वादसँगै भाइबहिनीको जिम्मेवारी पनि काँधमा थियो ।
एकदिन उहाँले ‘मितिनी कफी’ नामक कोरियन क्याफेमा जागिरको सूचना पाउनुभयो । कोरियनजस्तो देखिने मानिसको खोजीमा रहेको क्याफेमा शेर्पा अनुहार मिल्ने भएकाले सजिलै जागिर पाउनुभयो । त्यहाँ काम गर्दै जाँदा उहाँले प्लेटफर्महरु प्राप्त गर्न सफल हुनुभयो । उहाँले भर्खरै खोलिएका क्याफेहरुमा विभिन्न ट्रेनिङहरु समेत दिन थाल्नुभयो ।
“मैले काम खोज्ने क्रममा एउटा कोरियनले नेपालमा खोलेको एउटा मितिनी कफी भन्ने थियो । बारिष्टको रुपमा काम गर्ने, हेर्दा कोरियनजस्तो देखिने मानिस खोजिरहनुभएको रहेछ । मैले एउटा दाइको माध्यमबाट थाहा पाए । मेरो लुक्स मिल्ने भएको कारण सजिलै त्यहाँ राखियो । कलेज जाँदै काममा जाँदै गर्न थाले । मैले त्यहाँ राम्रोसँग काम गरेको हुनाले धेरै प्लेटफर्महरु पाए । मैले नेपालमा विस्तारै विस्तारै कफी सपहरु खोल्दै जाने, सपहरुमा कफी मेसिन कसरी चलाउने ? मेसिनहरुको मेन्युहरु कसरी बनाउने ? भन्ने सिकाउने प्लेटफर्महरु पाए ।”
सन् २०१२ देखि सुरू भएको त्यो कामले उहाँलाई न केवल आर्थिक रूपमा उभ्यायो, बरु कफी संसारप्रति गहिरो मोह जगायो ।
उहाँको जीवनको अर्को ठुलो मोड २०१७ मा आयो । जब उहाँले नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य बनाएर सगरमाथाको शिखरमै कफी पस्किने सोच बनाउनुभयो । तर, सगरमाथा चढ्न ३० लाख लाग्थ्यो । उहाँसँग २० हजार समेत थिएन ।
“हाम्रो सगरमाथा, हाम्रो गौरव, कृषि विकासमा हाम्रो पौरख’ भन्ने मूल नाराको साथमा चाहिँ नेपालको कफी चिनाउन क्याम्पेन सुरु गरेँ । क्याम्पेन सुरू गर्दा धेरै समस्याहरु आए । जसमा २०/३० लाख पैसा लाग्ने भयो । तर, म सँग २०/३० हजार समेत थिएन । घरमा सल्लाह त गरेँ तर घरमा कोही हुनुहुन्न थियो । हिमाल आरोहण गर्ने क्षेत्रमा कोही थिएनन् । तर, बुवा शिक्षक भएकाले पैसा मिलाउनुहुन्छ भन्ने मलाई विश्वास थियो । उहाँहरुले नजाउँ, हिमालमा गएपछि मान्छे फर्किएर आउँछ की आउँदैन भन्ने नै हुँदैन । कति धेरै मान्छे मरिराखेका हुन्छन् । किन जाने ? पढ्नुपर्छ भनेर भन्नुभयो,” उहाँले विगत कोट्याउँदै भन्नुभयो ।
परिवारमा कुरा राख्दा हिमाल चढ्न जोखिम भएका कारण उहाँले सपोर्ट पाउनुभएन। यस्तो अवस्थामा उहाँको सपना कुनै पनि हालतमा पूरा हुने अवस्था नै थिएन । तर, उहाँले आफ्नो सपनालाई जीवित राख्न अनेक उपाय र जुक्तिहरु लगाउन थाल्नुभयो ।
एकदिन नेपाली कफीहरुको लागि ‘म एभरेष्ट चढ्दैछु सहयोग गर्नुस्’ भनेर फेसबुक लाइभ बसेर सहयोग माग्नुभयो । त्यहाँबाट ६० प्रतिशत रकम संकलन भयो । बाँकी रकम उहाँले भर्खरै सुरु गरेको कफी सप धितोमा राखेर जुटाउने सोच बनाउनुभयो ।
यसरी ‘हाम्रो सगरमाथा, हाम्रो गौरव, कृषि विकासमा हाम्रो पौरख’ भन्ने मूल नाराको साथ २४ मे २०१८ मा एभरेष्टमा गएर दुई विदेशी र दुई जना आरोहीहरुलाई कफी बनाएर पिलाउँदै आफ्नो सपना पूरा गर्न सफल हुनुभयो ।
उहाँले भन्नुभयो, “२४ मे २०१८ मा एभरेस्टमा गएर दुई जना विदेशी र दुईजना आरोहीहरुलाई कफी बनाएर पिलाउन पनि सफल भएँ ।”
सगरमाथा आरोहणपछि काठमाडौँ फर्किँदा एयरपोर्टमा कृषकदेखि व्यापारीसम्मले उहाँलाई सम्मान गरे । उहाँ भन्नुहुन्छ, “कफीले मलाई सगरमाथा पुर्यायो र सगरमाथाले मलाई जीवनको नयाँ पहिचान दियो ।”
दाफुटीले मकालु, आमादब्लम, लोबुचे, अन्नपूर्ण–१ जस्ता हिमालहरु सफलतापूर्वक आरोहण गरिसक्नुभएको छ । उहाँ सगरमाथा चढ्ने पहिलो महिला बारिस्टा पनि हुनुहुन्छ । दाफुटीले अहिले आफ्नै तीनवटा कफी फेन्चाइज सञ्चालन गरिरहनुभएको छ । करिब दुईसय जना युवालाई बारिस्टा, बारटेन्डर र कुकिङ तालिम दिइसक्नुभएको छ । उहाँ हाल बागमती प्रदेश सरकारसँग मिलेर ४० जना महिलालाई कफी तालिम दिइरहनुभएको छ ।
उहाँको अर्को सपना-नेपाली कफीलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने । “हामी विदेश जानुपर्ने होइन, विदेशीलाई नै यहाँ ल्याएर हाम्रो कफी पिलाउनुपर्छ,” उहाँ भन्नुहुन्छ ।
दाफुटी आफ्नो अनुभवमा बताउनुहुन्छ,‘पहिला जहाँ हिउँ देखिन्थ्यो, अहिले त्यहाँ चट्टान देखिन्छ । खाल्डोमा परेर हराउने धेरै घटना भइरहेका छन् । जलवायु परिवर्तन हिमाल चढ्नेलाई थप जोखिम बनिरहेको छ ।’
उहाँ दोलखा जिल्लामा कफी खेतीको ठुलो सम्भावना देख्नुहुन्छ । “गाउँपालिकाले खाली जग्गा सदुपयोग गरे, स्थानीय रोजगारी सिर्जना हुन्छ । युवा विदेश जानु पर्दैन,” उहाँ दृढतापूर्वक भन्नुहुन्छ ।
दाफुटी शेर्पाको कथा केवल सफलताको होइन, आँट, संघर्ष, र अठोटको कथा हो । उहाँका लागि कफी व्यवसाय मात्र होइन, यो नेपालको आत्मनिर्भरताको, पहिचानको, र भविष्य निर्माणको अभियान हो । -नेपाल न्यूज बैंक