कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धानबालीको उत्पादन बढाउन सकिन्छ : उपसभामुख राना

19

काठमाडौँ, १५ असार । उपसभामुख इन्दिरा राना मगरले खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “जलवायु अनुकूलित प्रविधिको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीतिले मात्र धान दिवसको सार्थकता प्रदान गर्छ भन्ने विश्वास लिएको छु ।”

किसानको जीवनस्तर उकास्न नीति निर्माणदेखि व्यावहारिक कार्यान्वयनसम्म सबै तहमा संवेदनशील हँदै धान उत्पादन एवम् उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउनुपर्ने उहाँको भनाइ छ । ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भता’ नाराका साथ आज मुलुकभर २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८२ मनाइँदै छ । असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा लागेका नेपालीहरूले आज दही चिउरा खाइ असार १५ मनाउँछन् ।

नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान हो । उपसभामुख रानाले भन्नुभएको छ, “धानखेती हाम्रो समाज र जीवनसँग अभिन्न भएर रहेको छ, त्यतिमात्र होइन यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्त्व पनि राख्दछ, धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्य राष्ट्रिय धान दिवसको रहेको छ ।”

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...