काठमाडौँ, १ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भूमे पर्व केवल सांस्कृतिक परम्परा नभइ वैज्ञानिक आधार भएको पर्व भएको बताउनुभएको छ ।
आज आयोजित ‘भूमे पर्व–२०८२’ लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “भूमिलाई पूजा गर्ने चलन पुरातन मान्यता मात्र होइन, वैज्ञानिक विषय पनि हो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिन थालेको छ । बाढी–पहिरो बढेको छ । सिङ्गो जगत् नै सङ्कटमा छ । यस्तो अवस्थामा भूमि पूजाले प्रकृतिप्रतिको सम्मान र दिगोपनाको सन्देश दिन्छ ।”
मन्त्री पाण्डेले भूमे पर्वलाई वातावरणीय सन्तुलन कायम राख्न सघाउने संस्कारका रूपमा समेत रहेको बताउनुभयो । “भूमि पूजाले प्राकृतिकतामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको हुन्छ,” मन्त्री पाण्डेले भन्नुभयो, “भूमि र प्रकृतिलाई बाँच्न दिने हो भने जल, जमिन, जङ्गल र वायुको संरक्षण गर्न सकिन्छ ।”
उहाँले सूचीकरण तथा व्यवस्थापन कार्यविधि, २०८१ पारित बताउँदै मागअनुसार यस पर्वलाई पनि सूचीकृत गर्नेबारे छलफल गरिने बताउनुभयो ।
आयोजक भूमे पर्व संरक्षण नेपालका उपाध्यक्ष हर्कबहादुर घर्तीले प्रकृति (भूमि)लाई सम्मान गर्न यो पर्व मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिको पूजा विशेषतः प्रकतिले हामीलाई गाँस, बास, कपास दिएकामा सम्मानस्वरूप गरिन्छ । यसमा पूजाआजा तथा नाचगान गरिन्छ ।”
उहाँले भूमे पर्व पहिले मुख्य रूपमा रुकुम, रोल्पा र बागलुङमा मनाइए पनि अहिले बसाइँसराइ र रोजगारीका कारण देश–विदेशमा छरिएका मगर समुदायले पनि मनाउन थालेको उल्लेख गर्नुभयो ।
यो पर्व उपत्यकामा बसोबास गरिरहेका मगर समुदायका लागि टुँडिखेलमा तीन दिनसम्म आयोजना भइरहेको छ । यसै अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, रोल्पा, रुकुमपूर्व र प्युठान जिल्लाका मगर समुदायलाई सार्वजनिक बिदा दिएको छ ।