- मनिषा बस्नेत
काठमाडौँ, ३० जेठ । मौसमविद्हरुले छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिए पनि सधैँ सक्रिय नहुने उनीहरुको भनाइ छ ।
जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुन भित्रिसके पनि सधैँ सक्रिय नहुने भन्दै विस्तारै मौसममा फेरबदल भइरहेको प्रतिक्रिया दिनुभयो ।
“यतिबेलाको मौसमको कुरा गर्दा मनसुन पूर्वी भू–भागबाट भित्रिसकेको छ । तर, मुलुकको मध्य र पश्चिम एवम् सुदूरपश्चिमतिर मनसुन सक्रिय हुनेक्रममा छ । विस्तारै मौसममा चाहिँ फेरबदल हुँदै वर्षा हुनसक्ने सम्भावना पनि देखिएको छ । सबै दिन वर्षा हुने भन्ने पनि हुँदैन । कुनैबेला मनसुन एक्टिभ हुन्छ भने कुनैबेला मनसुन ब्रेक हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले मनसुन ब्रेक हुँदा तापक्रम बढिरहेको भन्दै मनसुन सधैँ एकनास नहुने बताउनुभयो । “एक दुई दिन अलिकति तापक्रम बढेको र सर्वसाधारणलाई असहज भएको अवस्था छ । मनसुन सक्रिय भए पनि सबै दिन वर्षा हुने भन्ने हुँदैन । कुनै बेला ब्रेक हुनसक्छ । मनसुनलाई एक्टिभ बनाउने मनसुन ट्रस्ट सधैँभरि एकै ठाउँमा बस्दैन । त्यो ट्रस्ट माथि तल मुभ भइ नै रहन्छ,” उहाँले भन्नुभयो ।
यसैगरी जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ती कँडेलले आगामी २४ घण्टामा देशका धेरै स्थानहरुमा वर्षा भइरहेको बताउनुभयो ।
विशेषगरी कोशी, मधेश, गण्डकी, सुदुरपश्चिम प्रदेशमा भारी वर्षासमेत भइरहेको जानकारी दिँदै देशव्यापीरुपमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहेको बताउनुभयो ।
उहाँले नेपालको पूर्वी भू–भागमा १५ दिन अगाडि नै मनसुन प्रवेश गरेको भन्दै देशव्यापीरुपमा मनसुन आउनको लागि अनुकुल वातावरणहरु बन्दै गएको बताउनुभयो । उहाँले देशभर एक हप्ताभित्र नै मनसुन प्रोग्रेस हुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस वर्ष नेपालको पूर्वी भू–भागमा १५ दिन अगाडि नै प्रवेश गरेको थियो । बुधबार र बिहीबार पानी पर्ने गतिविधि बढ्दै छ भनेर पहिल्यै जानकारी दिएका थियौँ । देशव्यापीरुपमा वर्षाका गतिविधिहरु भइरहेका छन् । केही समयपछि सुख्खा नहुने, देशव्यापी रुपमा हरेक प्रदेशहरुमा हल्कादेखि मध्यम वर्षा र एकदुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ । अव छिट्टै केही दिनमा नै सम्भवत एक हप्ता भित्र नै मनसुन प्रोग्रेस हुन्छ । मनसुनी वायु कोशी प्रदेशमा मात्र भएपनि देशव्यापी रुपमा सक्रिय हुने अनुकुल वातावरणहरु बन्दैछन् ।”
उहाँले यस वर्ष औषतभन्दा बढी पानी पर्नुका साथै औषतभन्दा अधिकतम र न्यूनतम दुवै हिसाबले तापक्रम मापन हुने सम्भावना रहेको बताउनुभयो ।
“जल तथा मौसम विभागले मनसुन फोरमको आयोजना गरेर आगामी मनसुन सिजनमा कस्तो किसिमको वर्षा र तापक्रमको अवस्था हुन्छ भनेर जानकारी गराइसकेको छ । यस वर्ष देशभरि नै औषतभन्दा बढी नै वर्षा मापन हुने सम्भावना देखिएको छ । तापक्रम अधिकतम र न्यूनतम औषतभन्दा बढी नै मापन हुने सम्भावना देखिएको छ,” उहाँले भन्नुभयो ।
उहाँले यस पटक गण्डकी, लुम्बिनी र कर्णालीका आसपासका क्षेत्रहरुमा चाहिँ औषतभन्दा बढी वर्षा हुने सम्भावना अझै धेरै देखिएकाले सजक रहन आग्रह समेत गर्नुभयो ।
नेपालमा मनसुन प्रवेश गर्दा मात्र पनि धेरै क्षतिको घटना घटेको भन्दै तीनै तहका सरकारले जोखिमको क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मनसुन भित्रिँदै गर्दा सामान्य क्षति भइसकेको छ । अव नेपालभरि नै मनसुन प्रवेश हुँदा भारी वर्षा भयो भने कति क्षति हुन्छ भनेर छुट्याउन सकिने अवस्था छैन । स्थानीय तहले आफ्ना क्षेत्रमध्ये कुन स्थान जोखिममा छ, जनतालाई बचाउन के गर्न सकिन्छ भनेर पूर्वतयारी गर्नुपर्छ । यसैगरी संघीय तहले पनि काम गर्नुपर्छ । नागरिकले पनि आफू बसेको क्षेत्र कतिको जोखिम भएको क्षेत्र हो भनेर बच्नको लागि के गर्ने भनेर आफैले पूर्वतयारी गर्न आवश्यक हुन्छ ।”
उहाँले महाशाखाले निकालेको बुलेटिनहरु, मौसमको समाचार हेरेर मात्र आफ्ना योजनाहरु बनाउन आग्रह गर्नुभयो ।
साथै, उहाँले चट्याङबाट बच्न सम्भव भएसम्म घरभित्र बस्ने र घरभित्र रहँदा पनि विद्युतीय सामाग्रीमा विद्युत् प्रवाह हुनेखालका उपकरण चलाउन नहुने बताउनुभयो । उहाँले चट्याङबाट बच्न रुखमुनि बस्ने प्रचलन गलत भएको भन्दै त्यसो नगर्न सुझाव दिनुभयो ।
“हामी रुखमुनि बस्छौँ । तर, जुन रुख अग्लो छ त्यसमै चट्याङले हान्ने सम्भावना देखिन्छ । छाता ओडिरहँदा पनि चट्याङले हान्ने सम्भावना छ । फलामबाट टाढै रहने गर्नुपर्छ । जुत्ता चप्पलहरु लगाइरहने गर्नुपर्छ,” उहाँले भन्नुभयो । -नेपाल न्यूज बैंक