९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाउँदा…

15

दार्चुला, २० जेठ । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । व्याँस–६ का ९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाएपछि भन्नुभयो, “घरमै नागरिकता पाउँदा खुसी लागेको छ ।”

जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुरुप उनीहरुलाई पायक पर्ने स्थानमै पुगेर नागरिता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिनुभयो ।

टोलीले व्याँस–३, ४, ५ र ६ का एक सय ६१ जनालाई नागरिकता र दुई सय पाँच जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । नागरिकता पाउनेमा १३८ ज्येष्ठ नागरिक, दुई जना अपाङ्गता भएका व्यक्ति रहेको थिए । राष्ट्रिय परिचयपत्र वितरणअन्तर्गत १९७ ज्येष्ठ नागरिक र पाँच जना अपाङ्गता भएका व्यक्ति छन् ।

व्याँस गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो ।

सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । गाउँपालिकाबाट सदरमुकाम खलङ्गा आउन एकतर्फी गाडी भाडामात्र एक हजार लाग्छ भने आवतजावत गर्न कम्तिमा तीन–चार हजार खर्च गराउनुभन्दा पालिकाले समन्वय गरेर गाउँमै नागरिकता उपलब्ध गराउने व्यवस्थापन गरिएको प्रवक्ता धामीले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...