विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने

10

काठमाडौँ, ११ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रममा बोल्दै उहाँले विपद्‌मा स्थानीय सरकार सक्रिय हुनुपर्ने भन्दै त्यसको लागि ललितपुर महानगरपालिका विपद् व्यवस्थापनका लागि पूर्व तयारीमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कुनैपनि विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने अवस्था छ । त्यसमाथि पनि विपद् व्यवस्थापन समिति अर्थात ललितपुर महानगरपालिकाको नगर प्रहरी छ । नगरप्रहरी नै सबैभन्दा बढी अग्रसर हुनुपर्ने भएकाले तालिम दिइ स्रोतको व्यवस्थापन गर्न अनिवार्य छ । यसका लागि पूर्वाधारको व्यवस्था गर्नुपर्ने जिम्मा नगरपालिकाको हो ।’

उहाँले विपद्को समयमा नगर प्रहरीका साथै तालिम प्राप्त विपद् स्वयंसेवकहरु निकै संवेदनशीलताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

महानगरपालिकाका प्रमुख महर्जनले विपद् व्यवस्थापनका लागि पाँच वटा डुङ्गा खरिदको प्रक्रियामा गइरहेको र डुङ्गाका लागि पनि तालिमको छिट्टै व्यवस्था गरिने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...