‘जारा’लाई छिमेकीले विष खुवाइदिए अनि स्नेहाले बाटो मोडिन्’ [भिडिओ]

39

प्रमिला कार्की

काठमाडौँ, ८ जेठ । ललितपुरकी स्नेहा श्रेष्ठले आफ्नो घरमा एउटा कुकुर पाल्नुभएको थियो । नाम थियो–‘जारा’ । एक दिनको घट्ना हो, ‘जारा’लाई छिमेकीले विष खुवाइदिए । लामो समयको छटपटाहट र पीडा सहेर ‘जारा’ले मृत्युवरण गर्‍यो । परिवारको सदस्यझैँ अत्यन्तै माया गरेर पालेको जाराको मृत्युपछि स्नेहा उजुरी लिएर प्रहरीकहाँ पुग्नुभयो । तर, प्रहरीले उजुरी नै दर्ता गराएन ।

एउटा निर्दोष जनावरको निर्मम तरिकाले हत्या भएपछि स्नेहा भावुक बनिन् । कानुनी कारबाहीको प्रक्रिया पनि अघि नबढेपछि उहाँले कठोर सोच, निडर विश्वास र लगनशिलताका साथ जीवनलाई नयाँ बाटोतर्फ डोहोर्‍याउनुभयो । प्राणीप्रेमी अर्थात् पशु अधिकारकर्मी बनेर उहाँले सयौँ ‘जारा’हरुलाई नयाँ जीवन दिइरहनुभएको छ ।

भनिन्छ, जीवनमा कुनै राम्रो परिवर्तन र सफलताका लागि मानिसले खराब र कठोर परिस्थितिको सामना गर्नुपर्छ । सकारात्मक पलको पर्खाइमा तीतो अनूभूतिलाई आत्मसाथ गर्ने आँट र साहस राख्नुपर्छ । परिस्थिति नै त्यस्तो बनिदिन्छ कि कतिबेला कुन घटनाले मानिसको पूरै जीवनलाई नसोचेको बाटोतिर मोडिदिन्छ ।

त्यसैले त स्नेहाले तीतो अनुभवलाई मिठो रुपमा ग्रहण गरेर सयौँ प्राणीको जीवन बदलिदिनुभएको छ । हुनतः उहाँमा ‘एनिमल केयर सेन्टर’ खोल्ने सोच पहिले कहिल्यै आएको थियो । तर, आफ्नै सन्तान सरहको ‘जारा’को हत्यापछि विछिप्त बन्नुभएकी उहाँले बेवारिसे बनेका सयौँ प्राणीहरुको नयाँ जीवन दिइरहनुभएको छ । बेवारिसे अवस्थामा रहेका जनावरहरुको सहारा बन्नुभएको छ । र, जनावरप्रेमी बनेर आफ्नो परिचय बदल्नुभएको छ ।

आफ्नै घरमा भएको दुःखद् घटनापछि एनिमल केयर सञ्चालनमा ल्याउने सोचका साथ २०१४ देखि कानुनी रुपमा ‘स्नेहाज केयर’दर्ता गरेर उहाँले जनावरहरुको सेवा सुरू गर्नुभयो ।

उहाँ भन्नुहुन्छ,‘२०१४ देखि कानुनी रुपमा ‘स्नेहाज केयर’रजिस्ट्रार गरेर सुरु गरेर काम सुरू गरेकी हुँ । खासमा मेरो कुकुरलाई छिमेकीले पोइजन खुवाएर मारिदिए । कुकुरलाई बचाउन सकिन । कुकुरलाई जसले पोइजन खुवाएको थियो उसलाई कानुनी कारवाहीमा ल्याउन पनि सकिएन । सोही घटनापछि ‘स्नेहाज केयर’ सुरु गरेकी हुँ ।’

उहाँले कुकुरमात्र नभएर गाईका बाच्छाहरु, भैँसीहरु, मन्दिरमा बलि दिन लगेको बोकाहरु, बुढो भएर दुध नदिने गाइहरुको उद्धार गर्नुभएको छ ।

उहाँ भन्नुहुन्छ,अहिले यहाँसम्म आइपुग्दा सडकमा बेबारिसे छाडेका बाच्छा, भैँसी, मन्दिरमा बलि दिन लगेको बोका, खसी, बुढो भएर दुध नदिने भएपछि छाडिएका गाई भैँसीको उद्धार सुरु गरेको हुँ । यसबीचमा सुंगुरहरुको पनि उद्धार गरेका छौँ । सुरुवातीमा कुकुरको उद्धारबाट कामको थालनी गरे पनि अहिले सबै जनावरलाई माया गर्छु । उद्धार गर्छु ।’

स्नेहा केयरमा हाल १५० भन्दा बढी कुकुरहरु छन् । रातमा उनीहरु भुक्दा बाधा पुर्‍याउने भएको कारण छिमेकीहरुबाट हटाउन दबाब आइरहेको उहाँले सुनाउनुभयो ।

‘काम सुरु गर्नेबेला यहाँ घरहरु थिएनन् । हाल यहाँ आसपास ३०–४० वटा घर बनिसकेका छन् । भुकेर बाधा पुगेपछि हामीसँग विकल्प छैन । यहाँबाट अन्त सर्न खोजिरहेको छौँ तर हामीलाई समय दिनुको सट्टा आजै जाउ, भोलि नै जाउँ भनेर दुःख दिइरहेको छन् । वडाहरुमा गएर हामीले गर्दा रेबिज धेरै फैलियो भनेर गुनासो गर्नुहुन्छ । तर, रेबिज कम गराउन यस्तो काम गरिरहेका छौँ । यस्तो कुरा कसले बुझिदिने ?’

केयर सेन्टरमा लाग्ने खर्च जुटाउन कठिन भइरको बेला सेन्टर नै सार्नपर्ने कुराले तनाव महसुस भइरहेको उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार स्नेहाज केयरलाई आवश्यक पर्ने आर्थिक सहयोग स्वदेश तथा विदेशमा बस्ने केही नेपालीहरुबाट हुँदै आएको छ । कोही सेन्टरमा आउँदा जनावरलाई नुहाइदिन स्याम्पु र साबुन बोकेर आउँछन् त केही भाइबहिनीले विद्यालयको खाजा खर्च समेत जोगाएर सहयोग गर्न आउने गरेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो,‘जनावरहरुलाई नै खुवाउन भनेर ठुलो रकम आउँदैन । तर, नेपालीहरुको मन धेरै ठुलो छ । विदेशमा रहनुभएका नेपाली मन र स्कुल–कलेजमा पढ्ने भाइबहिनीहरुले आफ्नो खाजा खर्चबाट जोगाएर स्याम्पू, डग फुडहरु लिएर आउनुहुन्छ । भिजिटरहरुले डोनेट गर्नुहुन्छ । सहयोग गर्नेमा १० प्रतिशत विदेशी र ९० प्रतिशत नेपाली नै हुनुहुन्छ । सोही सहयोगले फाउन्डेसन चलिरहेको छ । तर, अब नयाँ सेन्टर बनाउनको लागि चाहिँ ठुलो चुनौती छ ।’

उहाँले सरकारबाट त्यति धेरै सहयोग पाउनुभएको छैन । ललितपुर महानगरपालिकाले कुकुरहरु बन्याकरण गर्न समन्वय गर्नका साथै एउटा एम्बुलेन्स प्रदान गरेको छ, तर एउटा मात्र एम्बुलेन्स भएको कारण जनावरप्रेमीहरुले भनेको सबै ठाउँमा उद्धारका लागि एकैपटक पुग्न सम्भव नहुने उहाँको गुनासो छ ।

‘ललितपुर महानगरपालिकाले कुकुरहरु बन्याकरण गर्न पनि हामीसँग समन्वय गरेको छ । एउटा एम्बुलेन्स प्रदान गरेको छ । जसको कारण नै उपचार गर्न सजिलो भएको छ । तर, हामी एकैपटक धेरै ठाउँमा पुग्न सक्दैनौँ त्यसैले आजभोलि धेरै जनावरप्रेमीको कल म्यासेज आउँछ तर ठाउँमा पुग्न सकिँदैन । त्यस कारणले पनि उहाँहरु रिसाउनुहुन्छ । त्यसैले यस्तो काम गर्न निरुत्साहित बनाउँछ ।’

त्यस्तै, स्नेहाको अनुसार सरकारबाट जनावरहरुको लागि भनेर बजेट अहिलेसम्म कुनै पनि जनावरको सेवा गर्ने संस्थाले पाएको छैनन् । देशमा जनावरको लागि ठोस नियम, कानुन नभएको भन्दै भएका ढुवानी मापदण्डहरु र पशुकल्याण निर्देशिकाहरु पनि कागजमा मात्र सीमित रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘पशुपन्छी विभाग, कृषि मन्त्रालयले जनावरहरुको हेरचाहका लागि बजेट अहिलेसम्म कुनै पनि जनावरको सेवा गर्ने संस्थाले पाएका छैनन् । देशमा जनावरको लागि कानुन नै छैन । ठोस नियम कानुन नै छैन । केही गाइडलाइनहरु मत्र छन् । पशु कल्याण निर्देशिका छ, ढुवानी मापदण्डहरु छ । तर, कागजमा सीमित छ ।’

पहिलेको तुलनामा जनावरप्रेमीको सङ्ख्या बढेको उहाँको ठम्याइ छ । विशेषगरी युवा पुस्तामा धेरै जनावरप्रति प्रेम बढेको उहाँ बताउनुहुन्छ ।

‘सडकमा बेवारिसे जनावरहरुको अवस्था त उस्तै नै छ । तर, अहिले जनावरप्रेमि चाहिँ बढेका छन् । चेतना अलि बढेको छ । विशेषगरी युवा पुस्तामा जनावरप्रति प्रेम बढेको छ । घरबाट दिएको पकेट खर्चबाट कहिले डग फुड, स्याम्पू किनेर ल्याउनुहुन्छ,’ उहाँले भन्नुभयो ।

सरकार र प्रहरीहरुबाट सहयोग नपाएको कारण सयौँ घटनामा संलग्न दोषीहरुलाई सजाए दिलाउन नसकेको उहाँले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो,‘जारा मारेको एउटा घटना भयो । तर, त्यस्ता घटना सयौँ भइरहेका छन् । निवेदन नै नलिएको कारण दोषीहरुलाई कारबाही गर्न सकेका छैनौँ । किनकी सरकारी क्षेत्र र प्रहरीहरुबाट सपोर्ट छैन ।’

जनावरको सेवा र संरक्षणका लागि ‘एनिमल केयर’ स्थापना गरेकी स्नेहा अहिले धम्की र डरको वातावरणमा काम गरिरहनुभएको छ । जनावरमाथि हुने हिंसाविरुद्ध आवाज उठाएबापत उहाँ ठुलाठुला व्यक्तिहरूबाट धम्कीको शिकार बन्नुभएको छ ।

‘काम गर्दै जाँदा ठुलाबडाबाटै फोनमा धम्की आउन थाल्यो,’ उहाँले भन्नुभयो ‘तर प्रहरीमा दिएको निवेदन मैले फिर्ता लिइन । फिर्ता नलिएपछि उनीहरू एनिमल केयरमै आइ धम्काएका छन् । दिनदिनै केस फिर्ता लिनुस् भनेर दबाब आउन थालेको छ ।’

स्नेहाका अनुसार, एउटा गाईमाथि क्रूर व्यवहार गर्ने व्यक्तिविरुद्ध उहाँले उजुरी दिनुभएको थियो । गाइलाई उद्धार गरेको थियौँ । उसको ढाड र खुट्टा भाचिएको थियो । मैले प्रहरीमा उजुरी दिएर त्यो मान्छे थुनामा पनि पुग्यो । तर, मलाई यहाँ आएर सांसद एवम् नेताहरुले धम्की दिएर गए । मैले नाम राखेको गौरी गाईसँगै बाचा गरेकी थिएँ । जसले यस्तो अवस्थामा पुर्‍यायो उसलाई कारबाही गर्छु भनेर । त्यो व्यक्ति थुनिएपछि धम्की झन बढ्यो, ’उहाँले अगाडि भन्नुभयो, ‘पछि थाहा भयो, उसले अरू धेरै जनावर पनि पालेको रहेछ । अन्ततः म बाध्य भएर निवेदन फिर्ता लिनपर्‍यो ।’

साथै उहाँले नेपालमा जनावरप्रतिको क्रूर व्यवहारविरुद्ध बोल्न कठिन रहेको बताउनुभयो । ‘केस दर्ता गर्नेबित्तिकै ठुलाठुला मान्छेहरुको फोन आउँछ,’ स्नेहाले भन्नुभयो,‘कसैले आँखा फुटाइदिन्छन्, कसैले तातोपानी र एसिड खन्याउँछन् । यस्ता थुप्रै घटना छन् जुन खुल्न सकेका छैनन् ।’

स्नेहाले बाल्यकालदेखि नै पाठ्यक्रममा जनावरप्रतिको माया सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘हामीले प्रोटिन, क्याल्सियमका कुरा त पढ्यौँ, तर जनावरप्रति माया, जिम्मेवारी र बफादारीबारे केही पढेनौँ । बाटोमा कुकुर देख्दा ढुंगा हान्नु हुन्न भन्ने कुरा पनि बाल्यकालदेखि सिकाउनुपर्छ ।’

सरकारको उदासीनताप्रति पनि उहाँ असन्तुष्ट हुनुहुन्छ । ‘नेपालमा गाई र कुकुरलाई पूजा गरिन्छ, तर तिनको लागि कानुन छैन भन्ने त लज्जास्पद कुरा हो,’ उहाँ भन्नुहुनछ,‘सरकारले कानुन नबनाए पनि चुप लागेर बस्दैनौँ ।’
साथै उहाँले जनावरप्रतिको संवेदनशीलता बढाउनु र कानुनी संरक्षण सुनिश्चित गर्नु आफ्नो मूल उद्देश्य भएको बताउनुभयो ।

स्नेहाज केयरले प्यारालाइसेस भएका कुकुरलाई छुट्टै वार्डमा राख्ने र उनीहरुलाई हिँड्डुल गराउन ह्विलचेयरको व्यवस्था गर्ने गरेको छ । त्यस्ता ह्विलचेयर नेपालमा नबन्ने भएकाले विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको स्नेहाले जानकारी दिनुभयो । –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...