विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो टुङ्गोमा पु‍र्‍याउनुपर्छ : मन्त्री पन्त

1

काठमाडौँ, ७ जेठ । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल भएको छ ।

आज समितिको बैठक कक्षमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको हो ।

उक्त छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पु‍र्‍याउन आफू गम्भीर भएर लागेको बताउनुभयो । उहाँले निरन्तर छलफल गरी विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पर्‍याउन आफू गम्भीर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पु‍र्‍याउन म गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्‍याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौँ । कतिपय विषयहरु छन् तर विषयहरु भए पनि छलफललाई लम्ब्याउँ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय शिक्षा विधेयकलाई सहमति नजिक पुर्‍याउन खोजेको छु ।’

साथै, विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उहाँले बताउनुभयो । मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुङ्गोमा पुर्‍याउने गरी छलफल अघि बढाउन सुझाव दिनुभयो ।

समिति सभापति अम्बर बहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पु‍र्‍याउनुपर्नेमा जोड दिनुभयो । उहाँले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरी चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...