झापा, ७ जेठ । संघ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ ।
सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ ।
विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताउनुभयो । यो सडक आरपी समता जेभीले रु ५८ करोडमा निर्माणको ठेक्का लिएको हो ।
बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले रु ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ ।
वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताउनुभयो ।
विर्तामोड–४ स्थित हर्कलाल मार्गको स्तरोन्नति तीन खण्डमा भइरहेको छ । प्रदेश र नगरपालिकाको लगानीमा निर्माणाधीन उक्त सडकको बीचको खण्डमा कालोपत्र भइसकेको छभने पहिलो र अन्तिम खण्डमा काम जारी छ । उक्त सडकको पहिलो खण्ड एक करोड १३ लाख, दोस्रो खण्ड छ करोड र अन्तिम खण्ड एक करोड ११ लाखमा ठेक्का लागेको हो ।
कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको दुई करोड ६० लाख समपूरक बजेटबाट दाहाल गाउँबाट लालमाटी चोक पश्चिम खण्डसम्म एक किलोमिटर क्षेत्रमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । यहाँ केही दिनमा सडक कालोपत्र गरिने निर्माण व्यवसायी दिनेश मैनालीले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाईंले सडक स्तरोन्नतिको निरन्तर अनुगमन भइरहेको बताउनुभयो ।