काठमाडौँ, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई राज्यले अन्याय मात्र नभइ अपराध नै गरेको दाबी गर्नुभएको छ । यदि सरकारले कर्णालीलाई अलग बनाउँछ भने राज्य व्यवस्थाबिना कर्णाली चलाएर देखाउने चेतावनी उहाँको थियो ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उहाँले हुम्ला जिल्लामा हिमपहिरो गएर जनताहरु मरिरहेको अवस्थामा सरकारले एउटा हेलिकोप्टर पनि पठाउन नसकेकोमा आक्रोश पोख्नुभयो । उहाँले सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो कि, कानमा ढुसी पर्यो कि, हेलिकोप्टरमा खिया लाग्यो कि भन्दै प्रश्न पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हुम्ला जिल्लामा हिमपहिरो गएको छ । तर, अहिलेसम्म सरकारले उद्धार गरेको छैन । त्यसैले भन्न चाहन्छु– सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो कि, कानमा ढुसी पर्यो कि, हेलिकोप्टरमा खिया लाग्यो ? मन्त्रीहरुको सवारी हुँदा हेलिकोप्टर घुमिरहेको छ । तर, हुम्लामा हिमपहिरो गएर, हिमताल फुटेर जनताहरु रोइरहेका छन्, एउटा हेलिकोप्टर पठाउन सकेको छैन । सरकारले के कर्णालीलाई हेपेको हो ?’
यदि सरकारले राज्यबाट कर्णालीलाई अलग बनाउने हो भने आफैँ चलाएर देखाउने चेतावनी दिनुभयो । यस्तै, उहाँले जनता हिमपहिलो गएर अलपत्र परेको अवस्थामा सरकार सगरमाथा संवाद जस्तो नाटकबाजी गरिरहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा सामान्य राज्यमन्त्री जाँदा हेलिकोप्टर चढेर जानुहुन्छ तर त्यहाँको जनता हिमपहिलो गएर अलपत्र परेका छन् । कसैलाई वास्ता छैन् । यस विषयमा सभामुखले रुलिङ गर्नुपर्छ, कर्णालीका जनता पनि जनता हुन् ।’